होमपेज / समाज
सरिता चलाउने,जेठ १,सल्यान
कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितहरु छटपटाइरहेको समयमा अस्पतालमा शनिबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।
सञ्चालन गरिएको अक्सिजन प्लान्टबाट तत्काल १० वेडमा उपलब्ध गराइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । प्रति मिनेट ४० लिटरका दरले अक्सिजन उत्पादन हुने उनको भनाई छ । उनले भने ‘अक्सिजन प्लान्ट नहुँदा बाह्रय जिल्लाको भर पर्नु पर्ने बाध्यता थियो अब उक्त बाध्यता केही दमसम्म कम हुने आशा लिएका छौं ।’
अक्सिजन प्लान्ट जडान भएपछि जटिल किसिमका संक्रमितहरुलाई उपचार गर्न सहज हुने डिसीेले बताए । बिरामीको अक्सिजनको मात्रा अनुसार अन्य बेडमा समेत प्लान्ट जडान गरिने उनको भनाई छ ।
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट निमार्ण भएको हो । सुर्खेत र जुम्लामा अक्सिजन प्लान्ट भएपनि कोरोना लक्षित अक्सिजन प्लान्ट भने प्रदेशमै पहिलो पटक सल्यानमा जडान भएको डिसीको भनाई छ ।
यसअघि जिल्लामा अक्सिजन पलान्ट नहुँदा बिरामीहरुले सास्ती भोग्दै आईरहेका थिए । जसका कारण महंगो शुल्क तिरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता हुने गरेकोमा अव भने केही राहत मिल्ने विश्वास गरिएको छ ।





.jpg)