होमपेज / राजनीति
बैशाख २२, २०७७
कोरोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै नाका आगामी एक हप्ता सिल गर्ने निर्णय गरेको छ।
आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले कर्णाली प्रदेश छिर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिए।
‘सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले आफ्नो प्रदेशमा त्यसको प्रभाव फैलिन नदिन यस्तो निर्णय गरेको हो,’ उनले भने। उनका अनुसार बाँके, सल्यान, कैलालीको नाका भएर कर्णाली प्रवेश गर्ने नाकाहरुमा विशेष कडाई हुनेछ। सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने सरकारको तयारी छ।
‘प्रदेशका कुनै पनि जिल्ला प्रवेश गर्ने नाकामा कडाइ हुनेछ,’ उनले भने, ‘यही समयमा सरकारले प्रदेशका हरेक जिल्लाका पालिकाका केन्द्र, बजारहरूमा स्वाब संकलन गरी द्रुत परीक्षण पनि हुनेछ।’ नेपालमा अहिलेसम्म जम्मा ७५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भइसकेकाे छ। कर्णाली प्रदेशमा अहिलेसम्म एक जना पनि काेराेना भाइरसकाे संक्रमण देखिएकाे छैन।





.jpg)