होमपेज / राजनीति
फागुन १०,सल्यान
निर्वाचनका लागि आवश्यक पर्ने सामग्री जिल्ला आइपुगेसँगै निर्वाचन कार्यालय सल्यानले त्यसको व्यवस्थापनको काम सुरु गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित सल्यानमा आवश्यक मतपत्र तथा बन्दोबस्ती सामग्रीको तयारी धमाधम भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्लामा आइपुगेका छन् भने व्यवस्थापनको काम पनि तीव्र गतिमा अघि बढाइएको छ । मतदान स्थलमा आवश्यक सामग्री व्यवस्थापन तथा समन्वयको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था, सामग्री ढुवानी तथा प्राविधिक तयारीलाई विशेष प्राथमिकता दिइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले मतपत्र प्याकेजिङ कार्य सुरु गरिसकेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीको जिम्मेवारी निर्धारण गरिसकिएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिमको लागि मिति समेत निर्धारण भइसकेको उहाँको भनाई छ । निर्वाचन नजिकिदै जाँदा मतदान केन्द्रको अनुगमनलाई समेत जोड दिइएको कर्यालयले जनाएको छ । ११७ मतदान स्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएको सल्यानमा ४३ मतदान स्थललाई अति संवेदनशील सूचिमा राखिएको छ ।
सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता र विगतका निर्वाचन अनुभवलाई आधार मानेर ती क्षेत्रलाई अति संवेदनशील श्रेणीमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले संयुक्त रूपमा ती मतदान स्थलको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्था, पहुँचमार्ग, सञ्चार सुविधा तथा आपत्कालीन व्यवस्थापनको अवस्थाबारे अध्ययन गरि सकेको योगीको भनाई छ ।
जिल्लामा एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।





.jpg)