होमपेज / राजनीति
सल्यान, ८ फागुन ।
नेपाली कम्युनिष्ट पार्टीबाट सल्यानमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रमेश कुमार मल्ल यतिबेला फरक शैलीको चुनावी अभियानका कारण चर्चामा हुनुहुन्छ । परम्परागत रूपमा ठूला सभा, नाराबाजी र प्रदर्शनमुखी कार्यक्रममार्फत मत माग्ने चलनलाई बदल्दै उहाँले ‘सुन्दै–सुनाउँदै अभियान’ सुरु गर्नुभएको छ । मल्लले गाउँ–गाउँ, टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ । उहाँ भीडभाडयुक्त आमसभाभन्दा साना समूहमा बसेर मतदाताको गुनासा, सुझाव र अपेक्षा सुन्न केन्द्रित देखिनुहुन्छ ।
स्थानीय वृद्धवृद्धा, महिला समूह, युवा, कृषक तथा व्यवसायीहरूसँग भेटघाट गर्दै उहाँले विगतमा पार्टीले गरेका कामबारे जानकारी दिने र आगामी योजनाबारे खुला छलफल गर्ने शैली अपनाउनुभएको छ । ‘चुनाव केवल मत माग्ने समय होइन, जनतासँग पार्टीले गरेका कामको समीक्षा गर्ने र नयाँ योजना वनाउने अवसर पनि हो,’ मल्ल भन्नुहुन्छ ‘त्यसैले हरेक भेटमा मतदाताको कुरा सुन्छु, आफ्नो धारणा राख्छु ।’
कतिपय मतदाताले लिखित रुपमा नै माग पत्र पेश गर्ने गरेका छन् । कतिपय स्थानमा स्थानीय बासिन्दाले नै आफूहरूले पाएका सुविधा र परिवर्तनबारे खुलेर बोलेका छन्, यसले अभियानलाई थप संवादमुखी र सहभागी बनाएको छ । यसअघि पनि आफ्नै पार्टीबाट सांसद, मन्त्री भएको बेला भएका पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानी आयोजना, विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी स्तरोन्नति लगायतका कामको विवरण मतदातासामु प्रस्तुत गरिदैँ आएको छ । मल्लले विकासका कामलाई केवल कागजी प्रतिवेदनमा सीमित नराखी स्थानीयको अनुभवबाट पुष्टि गराउने प्रयास गरिरहनुभएको छ ।
अभियानको क्रममा मल्लले युवालाई प्राथमिकतामा राख्नुभएको छ । वैदेशिक रोजगारी, उद्यमशीलता, कृषि आधुनिकीकरण र सीप विकासका विषयमा युवासँग विशेष छलफल कार्यक्रम सञ्चालन गरिएको छ । युवाहरूले रोजगारीको अभाव, अवसरको कमी र पलायनको समस्याबारे खुलेर प्रश्न उठाउँदा उहाँले नीति निर्माण तहमा आफ्ना पहल र आगामी योजनाबारे स्पष्ट धारणा राख्दै आउनुभएको छ ।
सल्यानका ग्रामीण भेगमा महिला समूह र कृषक समुदायसँगको अन्तरक्रिया अभियानको अर्को महत्वपूर्ण पाटो बनेको छ । महिला सशक्तीकरण, सहकारीमार्फत आयआर्जन, स्वास्थ्य सेवा पहुँच र शिक्षामा सुधारका विषयमा मल्लले आफ्ना कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । स्थानीय उत्पादनलाई ब्रान्डिङ र बजारीकरणमार्फत आम्दानी बढाउने प्रतिबद्धतामा समेत उल्लेख छ ।
यो अभियानको विशेषता भनेको आलोचना सुन्ने र स्वीकार गर्ने शैली हो । कतिपय स्थानमा स्थानीयले अधुरा काम, ढिलाइ र कार्यान्वयन कमजोरीबारे प्रश्न उठाएका छन् । उहाँले ती प्रश्नलाई अस्वीकार नगरी आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । जनताको विश्वास जित्ने आधार पारदर्शिता र जवाफदेहिता भएको उहाँको भनाइ छ । मल्लसँगै चुनावी प्रचारप्रसारमा कम्युनिष्ट आन्दोलनका पुराना, पाखा र अनुभवी नेता प्रकाश ज्वाला सँगै हुनुहुन्छ ।
पुर्वमन्त्री समेत रहनुभएका ज्वाला पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ भने हाल जिल्ला निर्वाचन परिचालन समितिको संयोजक भएर चुनावी अभियानमा हुनुहुन्छ । ज्वालासँगै पुर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य टेक बहादुर बस्नेत लगाएतका केन्द्रीय तह देखी जिल्लातह सम्मका नेताकार्यकर्ताहरु परिचालन भएका छन् ।





.jpg)