होमपेज / राजनीति
सल्यान। प्रतिनिधि सभाको चुनावको मिति नजिकिँदै जाँदा सल्यानका राजनीतिक दलहरूको सरगर्मी पनि बढेको छ । आन्तरिक कार्यकर्तालाई प्रशिक्षण, भेला, पार्टी भित्रकै असन्तुष्ट पक्षलाई मनाउने देखि मतदाताको घरदैलोमा पुगेर भोट समेत माग्दै आइरहेका छन् । २०८२ को चुनावलाई राजनीतिक दलहरूले पार्टी वा व्यक्तिको हार जितको रूपमा मात्र लिने भन्दा पनि यस पटकको चुनावले अब हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई समेत प्रभावित गर्ने भएकाले आफ्नो पार्टी र आफ्नो अग्निपरीक्षाका रूपमा लिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सल्यानमा चुनावी भिडन्त रोचक बन्ने देखिएको छ । ठुला दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेपाली काँग्रेस र एमालेले आफ्नो अस्तित्वको लडाइँका रूपमा लिएका छन् भने अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफूलाई स्थापित गराउने मौकाका रूपमा लिएका छन् । यस पटक सल्यानबाट दुई स्वतन्त्र सहित १४ दलले चुनावमा प्रतिस्पर्धा गर्दै छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष कुमार राईले एमालेका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिई सकेका छन् भने आम जनता पार्टीका मानसिंह कामीले नेकपाका रमेश कुमार मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
नेकपाबाट रमेश कुमार मल्ल, एमालेबाट गुलाबजंग शाह काँग्रेसबाट केश बहादुर विष्ट, रास्वपाबाट ललित कुमार चन्द उम्मेदवार छन् । यस्तै नेकपा माओवादीबाट चन्द्र बहादुर खड्का, राप्रपाबाट अनिशा नेपाली लगायतका १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा मुख्यगरी ठुला तीन दलबिच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ भने रास्वपाले पनि पछ्याउने देखिन्छ ।
०७९ को प्रत्यक्ष र समानुपातिक मत हेर्दा
२०७९ मा भएको प्रतिनिधि सभामा १ लाख ५७ हजार ७ सय १ मतदाता थिए । जबकी यस पटक ४ हजार ७ सय ४९ मतदाता थपिएर १ लाख ६२ हजार ४ सय ४९ जनाले मतदानको अधिकार पाएका छन् । २०७९ र ०८२ मा मतदाताले थोरैले बढे पनि पछिल्लो राजनीतिक परिवर्तनका कारण ठुला राजनीतिक दलहरू पनि ढुक्क हुने अवस्था छैन ।
२०७९ मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले ३५७०७ मत ल्याएर निर्वाचित हुनु भएको थियो । काँग्रेस माओवादी र समाजवादी बिच गठबन्धन गरेर ज्वालाले अन्य प्रतिस्पर्धी दललाई ठुलो मतान्तरले विजय हासिल गरेका छन् । ज्वालाले ३५ हजार ७०७ मत पाउँदा उनका प्रतिस्पर्धी राजेन्द्र बहादुर शाह काँग्रेस बागी) ले १९ हजार ७९२ मत र एमालेका राजेन्द्र विर रायले १३ हजार ३९ र रास्वपाका पवन राज देवकोटाले ३६९५ मत प्राप्त गर्नु भएकाे थियो ।
प्रत्यक्षमा एमाले तेस्रो भए पनि समानुपातिकमा भने पहिलो पार्टी हो । समानुपातिकमा २२ हजार २५६ मत प्राप्त गरेको छ । यस्तै नेकपा (माओवादी केन्द्र) ले २१ हजार ३२५ र नेपाली काँग्रेसले १९ हजार ९ सय ६६ मत ल्याएको थियो । सल्यानमा चुनावी गठबन्धन गरे पनि नेपाली काँग्रेसले समानुपातिक र प्रत्यक्ष तर्फको मत करिब बराबर नै ल्याएको थियो ।





.jpg)