होमपेज / राजनीति
सल्यान, १६ माघ । सल्यानको दार्मा गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टीको पालिकास्तरीय बैठक तथा प्रशिक्षण भेला सम्पन्न भएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दार्मा गाउँपालिकाको फारुलामा शुक्रबार बैठक तथा प्रशिक्षण भेला सम्पन्न भएको हो ।
पार्टीका नेता दुर्गाबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री टेकबहादुर बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका नेताहरू कृतीबहादुर पुन, रमेशकुमार मल्ल, भीमप्रकाश शर्मा, निमबहादुर केसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले देशमा सुशासन, सामाजिक न्याय र जनताको जीवनस्तर परिवर्तनका लागि कम्युनिष्ट शक्तिलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले दार्मा गाउँपालिका तथा सल्यान जिल्लाको समग्र विकासका लागि आफू स्पष्ट योजना र प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रिएको उल्लेख गर्नुभयो ।
उम्मेदवार मल्लले भन्नुभयो ‘देशमा बढ्दो महँगी, बेरोजगारी र भ्रष्टाचारले जनताको दैनिकी कष्टकर बन्दै गएको छ, यी समस्याको समाधानका लागि इमानदार, जनउत्तरदायी र विकासमुखी नेतृत्व आवश्यक छ, नेपाली कम्युनिष्ट पार्टीले सधैं श्रमिक, किसान, युवा र पिछडिएका वर्गको पक्षमा काम गर्दै आएको छ, अबको निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरेर मलाई विजयी बनाउनुभयो भने दार्मा गाउँपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा ठोस काम गरेर जनताको मन जित्नेछु ।’ उहाँले पार्टी र जनताबीचको सम्बन्ध अझ मजबुत बनाउँदै जनताको आवाज संसदसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै सबै कार्यकर्ता तथा मतदातालाई एकताबद्ध भएर निर्वाचनमा लाग्न आग्रह गर्नुभयो ।
टोपेन्द्र मल्लले सञ्चालन गरेको कार्यक्रममा पालिकाभित्रका ६ वटै वडाको रिपोर्टिङ गरिएको थियो । सो अवसरमा नेकपा एमालेका आइतु वलीले पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । भेलाले तारा चुनाव चिन्हवाहक उम्मेदवार रमेश कुमार मल्ललाई विजयी बनाउन दार्मा गाउँपालिकामा ६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा अनन्त प्रसाद शर्मा, सहसंयोजकमा दलबहादुर केसी तथा सचिवमा दुर्गाबहादुर मल्ल रहनुभएको छ ।





.jpg)