होमपेज / राजनीति
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा क्रियाशील ६ राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् । उम्मेदवारी दर्ताको एक दिनअघि मुख्य राजनीतिक दल कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुंगो लगाएको हो ।
कांग्रेसले जिल्ला सभापति केशबहादुर विष्ट, एमालेले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह, नेकपाले रमेशकुमार मल्ल, नेकपा (माओवादी) चन्द्रबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली उम्मेदवार बनेका छन् ।
०७९ मा पालिका हारेका विष्ट प्रतिनिधिसभाको उम्मेदवार
कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट ०७४ मा जिल्ला समन्वय समितिको सभापति थिए । कांग्रेस सल्यानको सभापति विष्ट ०७९ को स्थानीय तहको निर्वाचनमा भने पराजित भएका थिए । छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा उनी एमालेका ओजबहादुर बुढाथोकीसँग पराजित भएका थिए ।
प्रदेश सभामा पराजित शाह
एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह अहिलेसम्म चारपटक चुनावी मैदानमा उत्रिएकोमा तीनपटक हार र एकपटक जित हात पार्न सफल भएका छन् । शाह ०७४ मा कर्णाली प्रदेश सभा (क) बाट तत्कालिन एमाले र माओवादी गठबन्धनबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा भने सल्यान प्रदेश सभा सदस्य (ख)बाट कांग्रेसका सुरेश अधिकारीबाट पराजित भएका थिए ।
पहिलोपटक चुनाव लड्दै नेकपाका मल्ल
लामो समयसम्म प्रचण्डको स्वकीय सचिव रहेका रमेशकुमार मल्ल पहिलोपटक चुनावी मैदानमा उत्रिँदै छन् । विद्यार्थी संगठनबाट राजनीतिमा होमिएका मल्ल अखिल क्रान्तिकारीको पूर्वअध्यक्षसमेत रहिसकेका छन् । दुई पूर्वमन्त्रीलाई छोडेर पार्टीले पहिलो पटक नयाँ अनुहारलाई स्थान दिएको हो ।
पूर्वमन्त्री टेकबहादुर बस्नेत र प्रकाश ज्वालाको पनि दावी रहे पनि अन्तमा दुवैले दावी छोडेपछि मल्लले टिकट पाएका हुन् ।
नयाँ अनुहार चन्द्रबहादुर खड्का
तत्कालीन नेकपा (माओवादी) को शैन्य कमाण्डरको भूमिका निर्वाह गरेका चन्द्रबहादुर खड्कालाई विप्लव नेतृत्वको नेकपा माओवादीले पहिलोपटक चुनावमा उम्मेदवार बनाएको छ ।
रास्वपाबाट ललित चन्द
राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानले प्रतिनिधिसभा सदस्यका लागि नयाँ अनुसार पठाएको छ । कर्णाली प्रदेश अध्यक्ष ललित चन्दलाई यसपटक रास्वपाले चुनावी मैदानमा उतारेको हो । यसअघि पवनराज देवकोटा उम्मेदवार बनेका थिए ।
समानुपातिक सदस्य अनिशा नेपाली
०७९ को राप्रपाबाट प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकमार्फत सांसद बनेका अनिशा नेपाली यसपटक प्रत्यक्षतर्फ टिकट पाएका छन् । राप्रपाको केन्द्रीय सदस्य समेत रहेका नेपाली पहिलोपटक चुनावी मैदानमा उत्रिँदै छन् ।





.jpg)