ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल पत्रकार महासंघ सल्यानद्वारा ‘जेन–जी’ प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

  सल्यान खबर डेस्क २०८२ आश्विन १ गते बुधबार २०:२७:३५ मा प्रकाशित

सल्यान, १ असोज ।

‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा सल्यानमा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै जिल्लाको सदरमुकाम खलङ्गास्थित पुरानो बसपार्कमा दीप प्रज्वलन गरिएको महासङ्घका शाखा सचिव बुद्धि पुनले जानकारी दिनुभयो । सो क्रममा मौन धारण समेत गरिएको छ । उक्त अवसरमा बोल्दै महासङ्घका शाखा अध्यक्ष डिल्लीराज रावतले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो दुःखद घटनाले समाजलाई गहिरो चोट पु¥याएको बताउनुभयो । उहाँले यस्ता घटना दोहोरिन नदिन राज्य संयमित र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

‘राज्य संयमित र उत्तरदायी बन्न सक्नुपर्छ, युवा पुस्ता सडकमा ओर्लिनुको पछाडिका कारणलाई गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ, ज्यान गुमाएकाहरूको बलिदानलाई बेवास्ता गर्नु हुन्न, यस्ता आन्दोलन र घटनाबाट हामीले पाठ सिक्नुपर्छ, नत्र हाम्रो लोकतन्त्रको आधार नै कमजोर बन्छ’ अध्यक्ष रावतले भन्नुभयो । उहाँले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता मौलिक अधिकार भएकोले विरोध र असहमति जनाउने अधिकारप्रति सम्मानजनक व्यवहार गरिनुपर्ने बताउनुभयो । 

सो अवसरमा महासङ्घका पूर्वकार्यवाहक अध्यक्ष सनत कुमार शर्मा, शाखा उपाध्यक्ष शिव डाँगी सहित बिभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीका साथै सरोकारवाला र स्थानीयको समेत सहभागिता रहेको थियो । भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तीमा ७४ जनाको ज्यान गएको छ । सरकारले जेनजी युवाहरूको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको सम्मान स्वरूप बुधवार राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top