होमपेज / राजनीति
सल्यान, २ भदौ ।
वर्षाको कारण बिग्रिएको लुहाम–काभ्रा–कालीमाटी सडक खण्डमा नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले मर्मत सम्भार गरेको छ । लगातारको वर्षाले सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी र हिलोका कारण यातायात आवागमनमा कठिनाइ भएको भन्दै तरुण दलले सोमबार सामूहिक पहलमा मर्मत गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत तरुण दलका जिल्ला कार्यसमिति सदस्य शुकलाल खड्काको नेतृत्वमा स्थानीय कार्यकर्ताहरू तथा युवाहरूले बिग्रेको सडकको मर्मत सम्भार गरेका हुन् ।
सडकमा भएका खाल्डा पुर्ने, पानी निकास गर्ने व्यवस्था र असुविधा हुने स्थानमा अस्थायी मर्मत कार्य गरिएको जिल्ला कार्यसमिति सदस्य खड्काले जानकारी दिए । उनले भने, “हामीले लुहाम–कालीमाटी सडक खण्डको गौरेजिउला क्षेत्रमा खाल्टा पुर्ने काम गरेका हौँ । करिब १०० मिटर सडक मर्मतमा हामी युवाहरूले बेल्चा, गैँती, ट्र्याक्टर र जेसीबी प्रयोग गरेर काम गरेका हौँ ।”
सडक बिग्रँदा सर्वसाधारणले सास्ती व्यहोरिरहेको अवस्थामा तरुण दलले पहल गरेर अस्थायी रूपमा भए पनि सडक प्रयोग गर्न मिल्ने बनाएको उनको भनाइ छ । स्थानीय बासिन्दा, यात्रुहरू तथा गाडी सञ्चालकहरूले सडकको समस्या स्थायी समाधानका लागि सरकारसँग माग गरेका छन् ।





.jpg)