होमपेज / राजनीति
जेठ ११,सल्यान
सचेत युवा, सकारात्मक साथ, कपुरकोटको समृद्धिमा युवाको हात भन्ने मूल नाराका साथ प्रथम कपुरकोट पालिका स्तरीय युवा सम्मेलन सल्यान कपुरकोटमा आइतबार सम्पन्न भएको छ ।
कपुरकोट गाउँपालिकाको आयोजना तथा आइ एम स्वीडीस डेभलप्मेन्ट पार्टनर र दलित विकास समाज सल्यानको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
सम्मेलनमा कपुरकोट गाउँपालिकाले गरेका असल अभ्यास, दलित विकास समाजले महिला र युवाका निम्ति गरेका असल कामहरू, युवाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा कानुन, युवाका अवसर र समस्याहरुक बारेमा प्रस्तुतीकरण गरिएको थियो । साथै Panel Discussion मार्फत युवाका सवाल, युवाका सवालमा पालिकाले गरेका अभ्यासहरू तथा भावी योजना बारे सम्मेलनमा उपस्थित सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको थियो । सम्मेलनले युवाका समस्या तथा चुनौतीहरू बारे १६ बुँदे घोषणा पत्र जारी गरी सामूहिक हस्ताक्षर सहित प्रतिबद्धता गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मेलनले कपुरकोट गाउँपालिका स्तरीय युवा सञ्जालको गठन गरेको छ। जसको अध्यक्षमा विवेक बोहरा, उपाध्यक्षमा तारा परियार, समावेशी उपाध्यक्षमा यामकुमारी घर्ती, सचिवमा चित्रबहादुर महातरा, सहसचिवमा गोपाल गौतम, कोषाध्यक्षमा रिता ओली र सदस्यहरूमा क्रमशः रमेश केसी, नन्दा महतारा, यमुना खड्का, प्रेम बोहरा, मनोज पुन र राधिका बुढा रहेका छन् ।सम्मेलनको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश आचार्य र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हीरा कुमारी वलीले गर्नु भएको थियो ।
सम्मेलनको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता र कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख अतिथिमा सञ्चालन भएको थियो । कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू, गाउँ सभा सदस्यहरू, दलित विकास समाज सल्यानका परियोजना संयोजक, नेपाल युवा संस्था सञ्जालका प्रतिनिधि, समाज जनजागरण केन्द्रका अध्यक्ष, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी, टोल विकास संस्था प्रतिनिधिहरू तथा ६ वटै वडाका करिब १५० युवाहरूको सहभागिता रहेको थियो।





.jpg)