ट्रेण्डिङ

होमपेज / राजनीति

जनयुद्ध नभएको भए नेपाल सय वर्षसम्म सामन्तवादको कब्जामा हुन्थ्यो : विप्लव

  सल्यान खबर डेस्क २०८१ फाल्गुण १ गते बिहीबार २१:२९:२४ मा प्रकाशित

फागुन १सल्यान ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले नेपालमा जनयुद्ध नभएको भए सय वर्षसम्म देश सामन्तवादको कब्जामा हुने जिकिर गरेका छन् । उनले माओवादी आन्दोलनकै कारण सामन्तवादको अन्त्य भएको दाबी गरे ।

३० औं जनयुद्ध दिवसका अवसरमा विपिन भण्डारी फाउण्डेसनले सल्यानको बागचौरमा आयोजना गरेको जनसभा कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले जनयुद्ध कुनै पार्टीविरुद्ध गरेको विद्रोह नभइ सामन्तवादको विरुद्ध गरेको मुक्तियात्रा भएकाे बताए । उनले भने, ‘जनयुद्ध सिङ्गो नेपाली जनताको पर्व हो । कसैले बिर्सन नसक्ने ढुंगामा लेखिएको अक्षरभन्दा पनि गहिरो हो । जनयुद्धमा ल्याएको परिवर्तनलाई सबैले गर्व गर्न म आग्रह गर्न चाहन्छु ।’

उनले नेपालमा जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताए । कुनै राजनीतिक पार्टी कांग्रेस, एमाले, माओवादीलाई ठुलो भाग दिनको लागि संविधान संशोधन नभइ नेपालमा समाजवाद वा जनताको गणतन्त्र बनाउनका लागि संविधान संशोधन जरुरी भएकाे उनकाे भनाइ थियाे ।

उनले माओवादी भित्रका केही नेताहरु शान्ति प्रक्रियापछि सम्पति थुपार्ने र पैसा लुकाउने ठाउँमा पुगेर बिग्रिएको आफ्नै आँखाले देखेपछि उनीहरु नसचिदा आफूहरु नमिलेर अलग भएको बताए । ”जनयुद्धको सपना विपरित माओवादी बिग्रिनु नेपाली जनताका लागि धोका थियो”, विप्लवले भने ।

उनले चुनावमा भोटको व्यापार गर्ने र जनतालाई झुट्टा आश्वासन दिने नेता र पार्टीहरुप्रति जनता विश्वास गर्ने अवस्था नभएको बताए । जनताले नयाँ तरिकाले सोच्ने बेला आएको भन्दै आफू देशका विभिन्न स्थानमा पुग्दा जनतामा एउटै पार्टी समातेर बस्ने अवस्था नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top