होमपेज / राजनीति
कात्तिक २७ गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाका अनुसार मनाङेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । सीआईबी प्रमुख थापाले मनाङेलाई पक्राउ गर्नुको कारणबारे भने, 'उहाँलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।'
ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेश सभा सदस्य मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो । जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए ।दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि गत मंगलबार न्यायालयले अन्तिम फैसला गरेको थियो ।





.jpg)