होमपेज / राजनीति
२o८१ कार्तिक ८ बिहीबार
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले तीनै तहको समन्वयमा मात्र दिगो विकास सम्भव हुने बताएका छन्। तीन तहका सरकार र राजनीतिक दल हातेमालो गर्दै अघि बढे गन्तव्यमा पुग्न सकिने उनले बताए ।
बिहीबार नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सरकारमा दल परिवर्तन भए पनि सहकर्मी दलले नै बनाएको नीति तथा कार्यक्रम र बजेटलाई निरन्तरता दिएको बताए। सबै पक्ष एक भएर हिडेँ मात्र प्रदेशको बजेट विनियोजन तथा विकासको काम प्रभावकारी हुने उनकाे दाबी छ।
विगतमा प्रदेशबाट धेरै योजनाहरू पर्ने गरेको, तर परिणाम देखाउन नसकेको अवस्थामा अब भने परिणाममुखी कार्य गर्ने गरी सरकार लागिपरेको बताए। उनले भने, ‘विगतदेखि अनुदानका नाममा धेरै बजेट जिल्ला–जिल्ला पुगेको छ, तर उक्त अनुदानको परिणाम कहीँकतै देखिँदैन ।’
अख्तियारी समयमा नै आए पनि असारमा नै विकास निर्माणका काम गर्ने परिपाटीले पनि देखिने गरी विकास निर्माण नभएकाे बताउँदै कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता समयमा नै बजेटको कार्यान्वयन गर्ने र असारे बजेटलाई अन्त्य गर्ने रहेको छ,’ उनले भने।
विभिन्न कार्यालयले सेवाग्राहीबाट अतिरिक्त शुल्क लिइरहेको गुनासो बढेकाले अतिरिक्त शुल्क तिर्नुपर्ने परिपाटीको अन्त्य गर्न सम्बन्धित कार्यालयलाई समेत निर्देशन दिइसकेको मुख्यमन्त्री कँडेलले बताए। कसैले तोकेभन्दा बढी शुल्क लिएको पाइए तुरुन्तै कारबाहीको दायरामा ल्याइनेसमेत उनको चेतावनी छ ।