होमपेज / राजनीति
चैत २२,सल्यान
नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनमा विभिन्न पदमा चुनावी प्रक्रिया चलिरहेको छ । दुई दिनसम्मको सहमतिका लागि प्रयास गर्दा पनि सफल नभएपछि अन्तत्वगता निर्वाचन प्रक्रियामा एमाले सल्यान पुगेको छ ।
निर्वाचनमा दुईवटा समुहहरु चुनावी मैदानमा छन् । यहि चुनावी भिड्मा एकजना महिला ३ महिनाको दुधे बालक समाएर उम्मेदवार बनी चुनावमा होमिएकी छन् ।
बनगाड कुपिण्डे नगरपालिका ९ स्वारा निवासी २४ वर्षीया एलिसा डिसी जिल्ला कमिटीको ४० वर्ष मुनिको महिला सदस्यमा उम्मेदवार छिन । काखमा ३ महिनाको दुधे बालक समाएर प्रतिनिधिहरुसँग भोट माग्दै हिडि रहेकी छन् । समाजमा महिलाले राजनीति गर्न हुँदैन । घरकै काम मात्रै गर्नुपर्छ भन्ने गलत सोच छ । तर मैले राजनीति गर्नु छ । महिलाले पूरा गर्ने आफ्नो प्राकृतिक जिम्मेवारी सँगै राजनीतिलाई पनि अगाडि बढाउन सक्छन भन्ने देखाउनु छ उनले भनिन ।
चैतको टलटलारपुर घाममा ३ महिने छोरीलाई काखमा समाएर प्रतिनिधिसँग भोट माग्न गाह्रो भएपनि चुनाव जित्ने आसावादीमा छिन उनी ।
अध्यक्षमा दुई जना चुनावी मैदानमा
एमाले सल्यानको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । संस्थापन पक्षबाट भीम बहादुर सेन र संस्थापनइतरबाट कुल बहादुर गिरी चुनावी मैदानमा उत्रिएका हुन । सेन कपुरकोट गाउँपालिकाका निवर्तमान अध्यक्षका साथै एमाले सल्यानका उपाध्क्ष हुन भने गिरी प्रदेश सभा क मा पराजित भएका हुन ।
यस्तै उपाध्यक्षमा ओज बहादुर बुढाथोकी र दान बहादुर केसी बिच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा दिपेन्द्र प्रकाश डिसी र पुष्पा कुमारी बोहरा, खुल्ला सहसचिवमा गणेशमान सिहं, गञ्जमान बुढा महेश देवकोटा रहेका छन् भने महिला सह सचिवमा बुद्धा कुमारी खत्री केसी र सहनशिलता वली डिसी बिच चुनावी प्रतिस्पर्धा हुदै छ ।
रोचक त के छन् भने पालिकाका अध्यक्ष र उपाध्क्ष फरक फरक प्यानलबाट उठेका छन् । छत्रेश्वरी गाउँपालिका अध्यक्ष रहेका ओज बहादुर बुढाथोकी एउटा प्यानलबाट उठेका छन् भने उपाध्यक्ष बुद्धा कुमारी खत्री केसी फरक प्यानलबाट उठेकी छन् । यस्तै कालिमाटी गाउँपाकिला अध्यक्ष दान बहादुर केसी र उपाध्यक्ष सहनशिलता वली डिसी फरक प्यानलबाट चुनावी मैदानमा उत्रिएका छन् ।