होमपेज / राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधवार सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारका कामकारबाही नयाँ ढंगले अघि बढाउने बताएका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महसुस गरेको बताए।
उनले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उनले अब ताजा भई काम गर्न पाएको महसुस गरेको बताए। नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताए।
उनले भने, ‘हामी प्रधानमन्त्रीको कार्यालय सरेका छौँ। ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु। यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु। नयाँ शुभारम्भले नयाँ गति पक्रिने र हाम्रो एकता अझ बलियो हुनेछ।’
सञ्चारकर्मीहरूसँग कुरा गर्दै शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको बताए। उनले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रबलीकरण गर्ने काम सम्पन्न भएको बताए।
२०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सरेका हुन्।