होमपेज / राजनीति
भदौ २,सल्यान
सल्यान वनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक समीक्षा सम्पन्न गरेको छ । समीक्षामा विभिन्न शाखा, उपशाखा, वडा स्तरमा बाट कार्यान्वयन भएका योजना तथा कार्यक्रमहरु सबै शाखा प्रमुख तथा इकाई प्रमुखले आफ्नो शाखा र इकाई ले गत आवमा सञ्चालन गरेका बजेट कार्यक्रम र क्रियाकलाप सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । सम्पन्न क्रियाकलापहरू के कस्ता रहे के कति उपलब्धि भयो र सुधार गर्नुपर्ने विषयमा छलफल हुनुका साथै समग्रमा उपलब्धि मूलक भएर र केही कतै सामान्य देखिएका समस्याहरूलाई आगामी वर्षहरूमा समाधान गरेर जाने प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले बताउनु भएको छ ।
समग्रमा गत आ व २०७९/०८० मा नगरपालिकाबाट भएका क्रियाकलाप सन्तोष जनक रुपमा सम्पन्न भएको उहाँको दाबी छ । धेरै कार्यहरू ढिलो थालनी गरिएता पनि करिब ६९ प्रतिशतको हाराहारीमा बजेट खर्चबाट विकास निर्माण तथा अन्य उपलब्धि हासिल हुनु महत्त्वपूर्ण कुरा रहेको उहाँको भनाई छ।
साथै चालु आर्थिक वर्षको पहिलो कार्यपालिका बैठकले काम सम्पन्न नभएका निर्माण व्यवसायहरूलाई हर्जाना सहित काम सम्पन्न गर्ने निर्देशन दिनुको साथै नगरपालिका परिसरमा रिटेनिङ्ग बाल सडक सल्याब तथा गेट निर्माणको जिम्मेवारी लिएको लक्की निर्माण सेवाको ठेक्का सम्झौता रद्द गरेको छ । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा न आएकोले रद्द गरिएको नगरपालिकाका प्रवक्ता तथा ३ न वडा अध्यक्ष धनबहादुर पुन मगरले जानकारी दिनु भयो । अन्य ठेक्काहरूको केही प्राविधिक समस्याले ढिला भएकोले केही समयको लागि म्याद थप गर्ने निर्णय गरिएको छ । नगरपालिका बाट गरिने सेवा प्रवाहमा सुधार ल्याउनको लागि करार कर्मचारीको ६ महिनाको लागि म्याद थप गरिएको छ ।
स्थानीय पञ्जिकाधिकारीहरु, प्राविधिक, स्वास्थ्यकर्मी तथा विभिन्न पदमा कार्यरत कर्मचारीहरूको आवश्यकता हेरेर जिम्मेवारी हेरफेर तथा सरुवा गरिने समेत बताएको छ । साथै नगर प्रहरी, आधारभूत तहका शिक्षकहरू तथा कार्यालय सहयोगीको आवश्यकताका आधारमा करारमा विज्ञापन गर्ने निर्णय समेत गरेको मेयर कर्ण बहादुर बुढाथोकीले बताउनु भयो ।
विद्यालय शिक्षा सञ्चालन व्यवस्थापन तथा नियमन कार्यविधि २०८० संशोधन सहित पारित भएको उहाँको भनाई छ । कार्यालय कार्य सञ्चालन निर्देशिका २०८० संशोधन सहित स्वीकृत गरिएको छ । गौशाला व्यवस्थापनको लागि गौशालामा २ जना हेरालुहरुलाई १७ हजार मासिक तलब दिने निर्णय गरिएको छ । भने २०७९/२०८० मा गरिएको सब इन्जिनियरको विज्ञापन रद्द गरिएको छ । नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि विभिन्न खोला नदिहरुलाई छुट्टाछुट्टै प्याकेज बनाई आई ई प्रतिवेदनका आधारमा ठेक्का गर्ने निर्णय गरिएको उपमेयर पुरुषोत्तम पुरुषोत्तम आचार्यले बताउनु भयो । । खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी योजना सन २०२३ देखि २०३३ सम्मको लागि स्वीकृत गरिएको उहाँको भनाई छ ।





.jpg)