ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

  सल्यान खबर डेस्क २०७९ फाल्गुण २५ गते बिहीबार १८:२८:३९ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्।

बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्।

पौडेललाई १० राजनीतिक दलले मतदान गरेका हुन्। उनले राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरे। एमाले राष्ट्रपति निर्वाचनमै एक्लै भएको थियो।

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका छन्।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top