ट्रेण्डिङ

होमपेज / राजनीति

आफ्नै पालिका केन्द्र पुग्न अन्य तीन पालिका पार गर्नु पर्छ दमाचौरवासीलाई

  सल्यान खबर डेस्क २०७९ श्रावण ६ गते शुक्रबार १५:३०:०९ मा प्रकाशित

 साउन ६,सल्यान 

स्थानीय सरकारलाई घर नजिकको सरकार भन्ने बुझिन्छ । स्थानीय पालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ तथा नगर कार्यपालिका हुन्छ ।

नेपालमा सङ्घीय संरचना हुनुपुर्व तत्कालीन जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू यति बेला स्थानीय तहले गर्ने गरेका छन् । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने नागरिकहरू यति बेला आफ्नै स्थानीय पालिकाबाट गर्दै आएका छन् ।

तर छत्रेश्वरी गाउँपालिका १ र २ (साबिक दमाचौर गाविस) का नागरिक भने आफ्नै गाउँपालिकाको केन्द्र जान पनि जिल्ला सदरमुकामभन्दा टाढाको बाटो धाउने गरेका छन् । २०७२ मा स्थानीय तहको सिमाङ्कन गर्दा तत्कालीन दमाचौर गाविस सहित लेखपोखरा, झिम्पे र छाँयाछेत्रलाई मिलाएर छत्रेश्वरी गाउँपालिका बनाइएको थियो ।

स्थानीय तहको गठनसँगै गाउँपालिकाको केन्द्र छायाँक्षेत्रको भोटेचौरमा राखियो । भौगोलिक हिसाबले दमाचौरबाट भोटेचौर जानलाई जिल्ला भित्रका अन्य ३ वटा पालिका पार गर्नुपर्छ । दमाचौरबासीलाई भोटेचौर जानलाई बागचौर नगरपालिका हुँदै, सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकाको बाटो भएर  पुग्नु पर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाको केन्द्र जानलाई सबैभन्दा धेरै कष्ट वडा नम्बर १ वासीलाई हुने गरेको स्थानीय लाल बहादुर चन्दले बताउनु भयो । ‘हामीले आफ्नै गाउँपालिकाको केन्द्र जानलाई ३ वटा पालिका पार गर्नुपर्छ, यो कस्तो खालको संरचना हो ?’ उहाँले प्रश्न गर्नु भयो ।

त्यति बेला ठुला नेताहरूले आफ्नो राजनीति अस्तित्वको लागि दमाचौरलाइ छत्रेश्वरीमा मिसाएर दुख दिएको उहाँको भनाइ छ । उहाँले भन्नु भयो ‘हामीलाई भौगोलिक दुरीको हिसाबले बागचौर धेरै नजिक पर्छ । तर दमाचौरमा नेताको पहुँच नहुँदा छत्रेश्वरीमा मिसाएर गाउँपालिका बनाइएको हो ।’ 

वृद्धा भत्ता ल्याउनकै लागि दुइतिनदिन लगाएर भोटेचौर जानुपरेको स्थानीय त्रिभान खत्रीको भनाई छ । उहाँले भन्नु भयो ‘हामी बृद्धाभत्ता ल्याउन बागचौर नगरपालिका हुँदै भोटेचौर जान्छौँ । एक दिनमा काम सकिँदैन । बास बसेर अर्को दिन फर्किनुपर्छ । बागचौर नगरपालिका भएको भए उसै दिन काम गरेर फर्किन सकिन्थ्यो ।’

दमाचौरमा पहिलेका नेतृत्वको पहुँच नहुँदा छत्रेश्वरीमा राखेकोले अन्याय भएको भन्दै स्थानीय केपी शर्माले अब दमाचौरलाइ बागचौरमा गाभ्नुपर्ने धारण राख्नु भयो  । उहाँले भन्नु भयो ‘हामीले अब दमाचौरलाइ बागचौरमा मिसाउनु पर्छ । त्यसका लागि सबै निकायसम्म पुग्छौँ ।’ दमाचौरलाइ बागचौरमा मिलान गर्नको लागि दमाचौरबासीले छिट्टै सङ्घर्ष समिति बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

अर्का स्थानीय क्षेत्र केसीले भन्नु भयो ‘हामी बागचौर नगरपालिकावासी भएको भए बिहान पालिका गएर काम नसकिए पनि साँझ घर फर्किन सकिन्छ । तर भोटेचौर हुँदा काम नसकिँदा उतै बास बस्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top