ट्रेण्डिङ

होमपेज / राजनीति

जिल्ला समन्वय समिति सल्यानको निर्वाचन: कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन

  सल्यान खबर डेस्क २०७९ जेठ २५ गते बुधबार १४:४१:३२ मा प्रकाशित

जेठ २५,सल्यान 

यही जेठ २९ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सल्यानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । केन्द्रले गरेको निर्देशन अनुसार पदको भागबन्डा गर्दै गठबन्धन गरेका हुन् । 

समन्वय समितिमा प्रमुख, उपप्रमुख सहित नौ पद रहेका छन् । गठबन्धन अनुसार कांग्रेसले समन्वय प्रमुख, तीन सदस्यसहित चार, माओवादीले उपप्रमुख, तीन सदस्यसहित चार र नेकपा समाजवादीले एक सदस्यमा सहमति भएको कांग्रेसका जिल्ला सभापति केश बहादुर विष्टले बताउनु भयो । 

कांग्रेसले बागचौर नगरपालिका १२ बाफुखोलाका मानबहादुर ओलीलाई समन्वय प्रमुखका लागि छनोट गरेको छ । यस्तै सदस्यहरूमा शारदा नगरपालिका १ का बालकृष्ण भण्डारी, छत्रेश्वरी गाउँपालिका ७ बाट हिरा कुमारी शाह चन्द र शारदा नगरपालिका ३ की विमला खत्रीलाई पठाउने निर्णय गरेको विष्टले बताउनु भयो । 

यस्तै माओवादी केन्द्रले  उपप्रमुखमा दार्मा गाउँपालिका ४ का असविर बुढाथोकीलाई पठाउने निर्णय गरेको छ । सदस्यहरूमा शारदा नगरपालिका ९ बाट चेत बहादुर गिरी, बागचौर नगरपालिका ४ बाट विन्दु पुन र कुमाख गाउँपालिका ६ बाट जमुना सुनारलाई सिफारिस गरिएको माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुनको भनाई छ । 

नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष हरि केसीलाई सदस्यमा पठाउने भएको छ । 

केन्द्रको निर्देशन अनुसार कांग्रेस, माओवादी र समाजवादीले गठबन्धनलाई निरन्तरता दिएपछि एमाले भने एक्लै निर्वाचन जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको एमाले जिल्ला सचिव ओज बहादुर बुढाथोकीले बताउनु भयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जिल्लाका १० स्थानीयमा निर्वाचित प्रमुख र उपप्रमुख गरी २० मतदाता रहेका छन् । जसमा कांग्रेसको ८, माओवादी केन्द्रको ६ र एमालेको ५ र समाजवादीको एक जना रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top