ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस सल्यानको विवाद उत्कर्षमा

  सल्यान खबर डेस्क २०७८ चैत्र २९ गते मंगलबार १२:३९:२२ मा प्रकाशित

चैत २९,सल्यान 

स्थानीय तहको निर्वाचनलाई लिएर नेपाली कांग्रेस सल्यानमा विवाद उत्कर्षमा पुगेको छ । जिल्ला सभापतिले स्थानीय तहको निर्वाचनमा एकलौटी निर्णय गरेको भन्दै अधिकांश पदाधिकारीहरूले सभापतिको चर्को आलोचना गरेका छन् । सभापति केश बहादुर विष्टले विधान बाहिर गएर निर्वाचनका लागि संसदीय समिति गठन गरी केन्द्रमा प्रतिवेदन पठाएको भन्दै पदाधिकारीले विरोध जनाएका छन् । दुई दिनसम्म चलेको कांग्रेस जिल्ला कार्य समितिको बैठकमा विवाद चर्किएपछि सभापति विष्ट बैठक छोडेर हिँडेका थिए । 

असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी सभापतिले गरेका निर्णय प्रति आपत्ति जनाएका छन् । स्थानीय निर्वाचनको सम्पूर्ण जिम्मेवारी पाएका सभापति विष्टले बैठक नबसाई र संसदीय समिति गठन नगरी आफूखुसी निर्णय गरेको उपसभापति सन्तोष केसीले बताए । 

वैशाख ३० गते हुने निर्वाचनमा क्षमता अनुसार सबैलाई अवसर दिनु पर्ने आफूहरूको माग रहेको केसीको भनाई छ । उनले भने ‘पार्टी कार्यालयमा लगातार दुई दिन बैठक बसे पनि बैठकमा संसदीय समितिका बारेमा प्रस्ताव नै गरिएन । उल्टै बैठक छाडेर निस्किए ।’ 

सभापतिले बेवास्ता गरे आफूहरू माथिल्लो निकायमा जाने उपसभापति केसीले चेतावनी दिए । जिल्लमा ४४ पदाधिकारी रहेकोमा ३३ आफ्नो पक्षमा र सभापतिको पक्षमा ११ जना मात्रै रहेको केसीको दाबी छ । 

सभापति केश बहादुर विष्टले भने केन्द्रमा पठाएको प्रतिवेदन र संसदीय समिति गठन केन्द्रको नीति र विधान अनुसार नै भएकाले एक पक्षीय नभएको दाबी गरेका छन् । पदाधिकारीले विवाद उठाएकै कारण आफूले बैठक छोडेको बताउँदै उनले उक्त बैठक वैशाख ३ गतेका लागि बोलाइएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top