होमपेज / राजनीति
मंसिर २९,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छन् । माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट केसी अध्यक्षमा निर्वाचित भएकी हुन ।
केन्द्रीय सदस्यहरु बिच प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि प्रदेश समिति सदस्यहरुबाट पदाधिकारी चुन्ने विधि बनाइएको थियो । निकै सकस पूर्ण अवस्थाबाट केसी अध्यक्षमा निर्वाचित भएको अध्यक्ष मण्डलका अध्यक्ष रामदिप आचार्यले जानकारी दिए ।
अध्यक्षमा सहमति जुटे पनि अन्य पदाधिकारीमा अझै सहमति जुट्न सकेको छैन । अन्य पदाधिकारी चयनका लागि छलफल चलि रहेको माओवादी केन्द्रले जनाएको छ ।
पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेकी रुकुम पश्चिम निवासी केसी कर्णाली प्रदेशसभा सदस्य हुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन ।
कर्णाली प्रदेशका १० जिल्ला क्रमशः रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् । केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने व्यवस्था विधानमा गरेको छ ।





.jpg)