होमपेज / राजनीति
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजन हुनबाट रोक्न अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने बताएका छन् ।
सोमबार बिहान आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष दाहालले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन् ।
आइतबार अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनै पनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको बताए । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘हामीले ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने, समाजिक आर्थिक रुपान्तरण गर्ने, समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने, समाजवादको अधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो । त्यसैले ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटि अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौं भनेर बैठक राख्ने नै प्रयत्न गरौं । बैठक राखेर सबै पाटापक्षमा छलफल गरौं, खुला ढंगले छलफल गरौं र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौं, पार्टी एकता कायम गर्नैपर्छ त्यसको निम्ति पहल गरौं भनेर हामीले भनेका हौं । त्यसपछाडि उहाँहरुको कुराकानी भएको स्थिति छैन ।’
प्रवक्ता श्रेष्ठले आइतबार साँझ आफूहरुसँग भएको ब्रिफिङपछि अहिलेसम्म अध्यक्ष दाहाल र ओलीबीच कुनै संवाद हुन नसकेको पनि बताए । आइतबार साँझको ब्रिफिङमा अध्यक्ष दाहालले दुई अध्यक्षबीचको संवादमा अध्यक्ष ओलीले अब कुनै पनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राखेको कुरा जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए ।
विभिन्न सञ्चार माध्यमहरुमा आएजस्तो प्रधानमन्त्री ओलीले अब सँगै अगाडि बढ्न नसक्ने भनी दिएको अभिव्यक्ति साँचो रहेको श्रेष्ठले बताए । अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई पार्टीका कुनै पनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको उनले बताए ।
उनले भने, ‘अध्यक्ष प्रचण्डले हामीलाई जानकारी दिनुभएअनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने भनेर भन्नुभयो र बैठक बस्न अस्वीकार गर्नुभयो भनेर सुनाउनुभयो । बैठक किन बस्न काम छैन भन्दा बैठकको निर्णय त मान्दै मान्दिनँ तपाईंहरुले बहुमतले निर्णय गरेर हुन्छ ? केन्द्रीय कमिटीबाट निर्णय गर्नुस्, स्थायी कमिटीबाट निर्णय गर्नुस्, सचिवालयको निर्णय गर्नुस् तर बहुमतले गरेको निर्णय म मान्दिनँ । भनेपछि तपाईहरुले बैठक गरेर के गर्नुहुन्छ ? यति भन्दाभन्दै पनि तपाईंहरुले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउनासाथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईंहरु तयार हुनुहोस् । अथवा सल्लाह गरेर अलगअलग होऔं । अब एकैठाउँ बस्न सकिन्न भनेर भन्नुभएको कुरा हामीलाई जानकारी गराउनुभएको थियो ।’
प्रवक्ता श्रेष्ठले पार्टी एकता ठूलो मेहनत गरेर र क्रान्तिकारी उद्देश्यलाई केन्द्रविन्दुमा राखेर गरिएकाले यसलाई अहिले नै विफल हुन र फुटको स्थिति उत्पन्न हुन नदिन सबै नेता कार्यकर्ताले पहल गर्नुपर्ने बताए । पार्टी एकता कायम गर्नको निम्ति पार्टीलाई विधि र पद्धतिमा चलाउने र पार्टीको निर्णय सबैले मान्दै कार्यान्वयनमा जाने हो भने पार्टी एकता जोगिने पनि उनले बताए ।
पार्टीभित्र अहिले औपचारिक रुपमा वैचारिक, सैद्धान्तिक राजनीतिक बहस सुरु भइनसकेको अवस्थामा सबैले पार्टीको निर्णय मान्नुपर्नेमा श्रेष्ठले जोड दिए । सबैले आ–आफ्नो पक्षबाट आत्मालोचना गर्दै पार्टीको निर्णय मान्ने र कार्यान्वयनमा गए पार्टी एकता बलियो हुने पनि उनले बताए ।
ekantipur





.jpg)