ट्रेण्डिङ

होमपेज / राजनीति

काँग्रेसले बिपी जन्मजयन्ती विचार गोष्ठी गरी मनाउने

  सल्यान खबर डेस्क २०७७ भाद्र २३ गते मंगलबार १९:२४:१५ मा प्रकाशित

भदौ २३, २०७७  :  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय समितिले जननेता बिपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान विज्ञप्ति जारी गरेर भदौ २४, २५ र २६ गते जुम एपमार्फत बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने जानकारी दिएका हुन्। 

भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समुन्‍नतिको मूल बाटो’ विषय विचार गोष्ठी आयोजना हुने जानकारी दिइएको छ । यस कार्यक्रममा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागी हुने छन्।

यसैगरी भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागिता रहने छन्। यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवम् प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी गरिने कांग्रेसले बताएको छ।

सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्ने यो कार्यक्रममा नरहरि आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने विज्ञप्ति मार्फत जानकारी दिइएको हो। कांग्रेसले बीपी जयन्ती भौतिक दुरी कायम गर्दै, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ।
Thahakhabar

प्रतिक्रिया

सम्बन्धित खवर

Top