होमपेज / खेलकुद
सल्यान, ६ बैशाख ।
सल्यानमा दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा अन्तरपालिका स्तरीय दोस्रो शारदा मेयर कप क्रिकेट प्रतियोगिता शनिवारबाट सुरु भएको हो । प्रतियोगितामा जिल्लाका दश स्थानीय तह मध्ये आठ वटाले सहभागिता जनाएका छन् । जिल्लाको सदरमुकाम खलंगास्थित त्रिभुवन जन माध्यमिक बिद्यालयको खेलमैदान लुहापिङमा सुरु भएको प्रतियोगिता एक साता चल्ने छ ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । सो अवसरमा बोल्दै महर्जनले खेलक्षेत्रको विकासका लागि शारदा नगरपालिकाले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले दुई पालिकाविच भएका र हुन सक्ने असल र राम्रा अभ्यासहरुमा सहकार्य गर्न सकिने बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले क्रिकेटप्रति खेलप्रेमीको आकृर्षण बढिरहेकाले यसबर्षपनि क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले खेलमा हारजित स्वभाविक भएकाले यसलाई सहजै स्वीकार गरेर अघि बढ्न सुझाव दिनुभयो । शाारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख लिलाधर बबालले गर्नुभएको थियो ।
प्रतियोगिताको विजेता टोलीले एक लाख नगद र उपविजेता टोलीले पचास हजार नगद प्राप्त गर्ने छ । पहिलो शारदा मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको थियो । यसैविच शनिवार भएको पहिलो खेलमा सिद्धकुमाख गाउँपालिकालाई ३ विकेटले पराजित गर्दै शारदा नगरपालिकाले विजयी सुरुवात गरेको छ ।समय अभावले खेललाई १५ ओभरमा झारिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको सिद्धकुमाखले १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएर जवाफि ब्याटिङमा उत्रिएको शारदाले १३ ओभर ३ बलमा लक्ष्य भेट्टायो । शारदाले ९ बल बाँकी हुदाँ ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
यस्तै आजभएको पहिलो खेलमा सिद्धकुमाखका टिम क्याप्टेन बिक्रम रोका म्यान अफ द म्याच बन्नुभएको छ । उहाँले यसप्रतियोगिताको पहिलो खेलमा नै अर्धसतक पुरा गर्नुभएको हो । उहाँले नटआउट ५८ रन वनाउनुभएको हो ।