होमपेज / कला/साहित्य
सन्तोष घर्ती सल्यान,१२ असोज ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर २ को दानबाङमा आज देखि पौराणिक मेला लागेको छ । स्थानीय मौलिक लोक संस्कृतिको जर्गेना र खेलकुदको विकासका लागि पौराणिक दानबाङ मेला लगाइएको हो ।
कपुरकोट गाउँपालिका भित्र लाग्ने पौराणिक मेला मध्य दानबाङ मेला एक प्रमुख मेला हो । यो मेला तीज पछिको पहिलो पूर्णिमाको दिनमा लाग्ने गर्दछ । बर्खा भरी खेतबारीमा काम गरेको थकान मेटाउने र इष्टमित्रहरू भेट भई सुखदुख साटासाट गराउने माध्यमको रुपमा परापूर्व कालदेखि मेला लाग्दै आएको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाई छ ।
पौराणिक दानबाङ मेलाको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिका भित्र सञ्चालन हुने मेलाले स्थानीय लोक संस्कृतिको संरक्षण र खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य समेत रहनु भएका पुनले मेलाबाट स्थानीय स्तरमा उत्पादन भएका घरेलु उत्पादनलाई बिक्री वितरणका लागि सहज बनाएको बताउनु भयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पौराणिक मेलाले समाजमा रहेका विभिन्न विकृतिका विरुद्ध सचेतना फैलाउने काम गरेको बताउनु भयो । गाउँपालिकाको १३ औँ गाउँभाबाट पारित कपुरकोट जागरण वर्ष २०८० लाई सफल बनाउन पौराणिक मेला कोसे ढुङ्गा साबित भएको भण्डारीको भनाई छ । उहाँले लोक संस्कृतिको संरक्षण, खेलकुदको विकास सँगै नयाँ प्रतिभाको उदयका लागि मेलाले सही बाटो देखाउने गरेको बताउनु भयो ।
दानबाङ टोल विकास संस्थाका अध्यक्ष शङ्कर घर्तीको अध्यक्षता तथा वडा नम्बर ४ का सचिव हिरामणि घर्तीको स्वागत मन्तव्यबाट मा भएको मेलामा वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बुढा,वडा नम्बर ३ का वडा अध्यक्ष प्रदीप खड्का,कपुरकोट बहुमुखी क्याम्पसका प्रमुख रूपलाल एरी,कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि के.सी.पत्रकार सन्तोष घर्ती लगायतकाले आफ्नो भनाई राख्नु भएको थियो ।
भोली सम्म सञ्चालन हुने मेलामा खुल्ला भलिबल प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता राखिएको छ । भलिबलमा प्रथम हुनेले ३० हजार,द्धितिय हुने २२ हजार,तृतीय हुने १७ हजार र सान्त्वना हुनेले ५ हजार पुरस्कार पाउने छन् भने एकल नृत्यमा प्रथम हुनेले १५ सय,द्धितिय हुनेले १ हजार र तृतीय हुनेले ५ सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।।





.jpg)