होमपेज / कला/साहित्य
सन्तोष घर्ती सल्यान,२३ भदौ ।
सल्यानका युवाहरूले पछिल्लो समय मौलिक लोक संस्कृति संरक्षणमा ध्यान दिन थालेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीका युवाहरूले लोक संस्कृति संरक्षणमा ध्यान दिन थालेका हुन् ।
कपुरकोट गाउँपालिकाको १३ गाउँ सभाबाट कपुरकोट जागरण कार्यक्रम मार्फत पालिका भित्र रहेका बिभिन्न मौलिक लोक संस्कृतिको संरक्षण,प्रवर्द्धन र पुस्तान्तरणका लागि विशेष अभियान सुरुवात गरे पछि युवाहरूको मौलिक लोक संस्कृति संरक्षण तर्फ युवाहरूको आकर्षण बढ्दै गएको हो ।
मौलिक लोक संस्कृतिमा युवाहरूले चासो नदेखाए पछि २०५५ सालबाट हराएको मुलपानीको लाखे नाचलाई युवाहरूले संरक्षण गर्ने भन्दै यस वर्ष देखि फेरी सुरुवात गरेका छन् । स्थानीय सामुदायिक बनको सहयोगमा लाखे नाचमा प्रयोग गरिने खप्पर,ढोलक,झ्याली,दमाहा,बाँसुरी लगायतका वाद्यवादनका सामाग्री खरिद गरेर लाखे नाचको सुरुवात गरिएको स्थानीय टिकाराम बुढाथोकीको भनाई छ ।
लाखे नाच विशेष गरेर गाउँपालिकाको वडा नम्बर ३ को दमार खोला,वडा नम्बर ५ को रिममा नाचिन्छ भने वडा नम्बर ४ को गाडा पानी र धनबाटमा हराएर गएको छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नाचिन्छ । लाखे नाच नाग पञ्चमीका दिनबाट सुरु गरेर ठाउँ अनुसार कृष्ण दशमी दिन सम्म विसर्जन गर्ने चलन छ ।
सल्यानमा लाखे नाचका क्रममा स्थानीय लोक भाका, भेसभुसा र चालचलनका आधारमा ढाेंटा मारुनी, एवं रोपाइँ जात्रा देखाउँदै समाजका विभिन्न विकृति माथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । लाखे नाच सहित कपुरकोट गाउँपालिकामा रहेका बिभिन्न मौलिक संस्कृतिलाई पालिकाको सार्वजनिक सम्पत्तिका रुपमा संरक्षण गर्ने अभियानमा गाउँपालिका पनि लागि परेको छ । मौलिक संस्कृतिलाई संरक्षण गर्ने अभियानमा लाग्ने समूहलाई आवश्यक सामाग्री तथा तालिम दिइने गाउँपालिकाले जनाएको छ ।