होमपेज / अपराध
बारा मालपोत कार्यालय सिमराका प्रमुख नायब सुब्बा घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई समेत सेवाग्राहीसँग ६ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएवापत घुस मागेको सूचनाका आधारमा उनलाई पक्राउ गर्न टोली खटाइएको थियो।
अनुसन्धानका सिलसिलामा खनालले सेवाग्राहीको जग्गा रजिष्ट्रेशन पास गर्ने क्रममा उक्त जग्गा श्रम तथा रोजगार प्रवर्द्धन विभाग, नयाँ बानेश्वर काठमाडौंमा रोक्का गरेका र त्यसका लागि खर्च गर्नुपर्छ भनी सेवाग्राहीसँग घुस मागेका थिए। उक्त घुस लिन खनालले लेखनदास बडाललाई खटाएका आयोगले जनाएको छ।
उनीहरूमाथि कानुनी कारबाहीका लागि प्रक्रिया बढाएको पनि अख्तियारले जनाएको छ।