होमपेज / अर्थ
सरिता चलाउने भदौ २७,सल्यान
बेमौसमी तरकारी खेतीका लागि परिचित सल्यान कपुरकोटबाट चार महिनाको अवधिमा ११ करोडको ताजा तरकारी निकासी भएको छ । कपुरकोट गाउँपालिका भित्रका किसानले उत्पादन गरेको २७ हजार २६ मेटिकट्न ताजा तरकारी जिल्ला बाहिर निकासी भएको हो ।
कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ देखि भदौ २० सम्म ११ करोड ४ लाख १४ हजार ७ सय ४ रुपैयाँको ताजा तरकारी निर्यात भएको केन्द्रका सचिव तिलक शर्माले जानकारी दिए ।
बेमौसमी तरकारी भएकाले किसानले राम्रो मूल्य पाइरहेको उनको भनाई छ । किसानले राम्रो मूल्य पाए पनि रोग, किराको कारण भने तरकारीको उत्पादनमा केही कमी आएको उनको भनाई छ । छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएपनि किसानहरूको बेमौसमी तरकारी खेतीमा आकर्षण बढी रहेको छ तर रोग र किराले पछिल्लो समयले किसानलाई सताउन थालेको छ ।
जिल्लाकै त्रिवेणी, छत्रेश्वरी, रोल्पा र दाङबाट समेत कपुरकोट सङ्कलन केन्द्रमा तरकारी सङ्कलन हुने भएपनि कपुरकोट गाउँपालिका भित्रका किसानले उत्पादन गरेको मात्र तरकारीको तथ्याङ्क राखिने गरेको सचिव शर्माले बताए ।
पहिलो चरणमा कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञाले केही समस्या बनाए पनि अहिले भारतबाट आउने तरकारीले समस्या बनाएको उनको भनाई छ । भारतबाट आएको तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरूले केही सस्तो मूल्यमा आफ्नो उत्पादन दिनु पर्ने बाध्यता रहेको उनको भनाई छ । उनले भने भारतबाट आउने तरकारीको कुनै परीक्षण बिना नै प्रवेश गर्न दिइन्छ तर नेपालबाट निर्यात गर्दा आनाकानी गर्ने गरेको पाइन्छ ।
जिल्लामा पछिल्लो समय मौसमी तथा बेमौसमी तरकारी खेती तर्फ किसानको आकर्षण बढी रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कपुरकोट गाउँपालिकामा मात्र गत वर्षदेखि तीन वटा तरकारीका ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । खुला आकाशमा खेती गर्दा रोग किराको संक्रमण अत्यधिक हुने भएकाले पछिल्लो समय प्लास्टिक घरमा खेती गर्ने किसानहरू बढी रहेको उनको भनाई छ ।
गर्त वर्ष मात्र जिल्लाबाट ७३ करोडको कृषि उपज जिल्ला बाहिर निकासी भएको छ ।





.jpg)