होमपेज / समाज
सल्यान । त्रिवेणी गाउँपालिकाले विपद्का कारण प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रूपमा १ लाख ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
हालैको बाढी तथा विपद्का कारण सम्पर्कविहीन भएका त्रिवेणी गाउँपालिकाका ११ जना नागरिकको खोजी कार्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले प्रभावित क्षेत्रमा टोली पठाउने भएको हो।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतको संयोजकत्वमा आगामी भदौ १२ गते प्रतिनिधिमूलक टोली बाढी प्रभावित क्षेत्रमा जाने भएको छ। टोलीमा सम्पर्कविहीन नागरिकका आफन्तलाई समेत सहभागी गराई सम्भावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अघि बढाइने जनाइएको छ।
बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको अवस्था पत्ता लगाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय गरी खोजी कार्यलाई प्रभावकारी बनाउने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका नागरिकका परिवारप्रति सहानुभूति व्यक्त गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउन पहल गर्ने जनाएको छ।
विपद्को समयमा स्थानीय तहबाट मात्र नभई राज्यका विभिन्न निकाय तथा नागरिकस्तरबाट समेत सहयोग आवश्यक रहेकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।





.jpg)