होमपेज / समाज
सल्यानको छत्रेश्वरी गाउँपालिका भोटेचौरमा सामुदायिक वनको दिगो संरक्षण, पुनर्स्थापना तथा प्रभावकारी व्यवस्थापनका विषयमा केन्द्रित दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, सल्यान, फरेस्ट एक्सन नेपाल तथा वन प्राविधिकहरूको सहयोगमा आयोजित कार्यक्रममा छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, वन प्राविधिक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सामुदायिक वनको वर्तमान अवस्था, वन पुनर्स्थापनाका चुनौती तथा दिगो व्यवस्थापनका उपायबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी वन क्षेत्रमा फैलिएका मिचाहा प्रजाति तथा वनमारा झारको नियन्त्रण, वनको जैविक विविधताको संरक्षण र वन व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायबारे सहभागीहरूबीच अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सामुदायिक वन व्यवस्थापन गर्नुअघि सम्बन्धित वनको कार्ययोजनाको गहन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए। कार्ययोजना कार्यान्वयनमा प्रभावकारिता ल्याउन वनको विगत र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै दीर्घकालीन योजना निर्माण गर्नुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए।
अन्तरक्रियामा वनको स्वास्थ्य अवस्था, वनमा रहेका रुख–बिरुवाको स्थिति, जैविक विविधता, उपलब्ध प्राकृतिक स्रोत, सम्भावना तथा विद्यमान चुनौतीहरूको पहिचान गरी त्यसका आधारमा व्यवस्थापन योजना तयार गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो। सहभागीहरूले वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई आत्मसात गर्दै स्थानीय आवश्यकता र वन संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा वन संरक्षणसँगै त्यसबाट प्राप्त हुने लाभको न्यायोचित वितरण सुनिश्चित गर्नुपर्ने, निर्णय प्रक्रियामा महिला, दलित, जनजाति तथा अन्य सबै समुदायको समावेशी सहभागिता हुनुपर्नेमा विशेष जोड दिइएको थियो। साथै, दुर्लभ वनस्पति, वन्यजन्तु तथा जैविक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै कार्ययोजनाअनुसार वन व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।
सहभागीहरूले सामुदायिक वन केवल काठ तथा वन पैदावारको स्रोत मात्र नभई वातावरण संरक्षण, जलाधार व्यवस्थापन, जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको सम्पदा भएकाले यसको दिगो व्यवस्थापन अपरिहार्य रहेको बताएका थिए।
आयोजक संस्थाहरूले यस्ता अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रमले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र सरोकारवालाको ज्ञान तथा सीप अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि वन पुनर्स्थापना, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
कार्यक्रमले सामुदायिक वनको दिगो संरक्षण र वैज्ञानिक व्यवस्थापनका लागि स्थानीय समुदाय, वन प्राविधिक तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





.jpg)