होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान
बनगाड कुपिण्डे नगरपालिका वडा न २ बामेमा नवनिर्मित वडा कार्यालय भवनको शुक्रवार नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले समुद्घाटन गर्नुभएको छ ।
समुद्घाटन कार्यक्रममा उपप्रमुख पुरूषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, नगर प्रवक्ता धन बहादुर पुनलगायतले मन्तव्य राख्दै स्थानीय तहको सेवा प्रवाह थप प्रभावकारी, जवाफदेही र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्नुभयो । विगतमा भाडामा कार्यालय सञ्चालन गर्नुपरेको बाध्यता अन्त्य भएको भन्दै निर्माणमा सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
साथै नगरपालिका सबैवडामा आफ्नै कार्यालय बाट सेवा सुचारु गर्नको लागि अगाडि बढिरहेको र अब छिट्टै अन्य वडा कार्यालयहरु पनि उद्घाटन हुने बताएको छ । चार कोठा, सभा हल र तीन वटा शौचालयसहितको सो भवन २०८० मङ्सिर १५ गतेदेखि निर्माण थालिएको हो। निर्माण कार्य २०८१ साल असोज मसान्तमा सम्पन्न भएको थियो। करिब १ करोड १ लाखको लागत अनुमान गरिएको यस योजनाअन्तर्गत सम्झौता रकम ६० लाख ४२ हजार रुपैयाँ तोकिएको थियो भने हालसम्म ५७ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ ।
बालेन एण्ड ब्रदर्श एण्ड सप्लायर्सले काम गर्ने जिम्मेवारी लिएको थियो । यस्तै, भवनको ग्रील, पेटी तथा फिल्ड सहित थप पाँच लाख बराबरको काम नगरपालिकाकै खर्चमा सम्पन्न गरिएको थियो । समारोह वडा अध्यक्ष मान बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव गणेश बुढाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी स्थानीय समुदाय लगायतको स्थानीय बाजागाजा झाकी समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा भवन निर्माणका लागि जग्गा दाता स्थानीय डिलाराम खत्री दिलिपलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।





.jpg)