ट्रेण्डिङ

होमपेज / समाज

कतारबाट आएका थिए कोरोना संक्रमित धादिङका युवा

  सल्यान खबर २०७६ चैत्र १२ गते बुधबार १८:०५:०१ मा प्रकाशित

चैत १२, २०७६ काठमाडौं :

कोभिड-१९ को संक्रमण भएका तेस्रो युवक कतारबाट आएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चैत ६ गते कतारबाट नेपाल आएका ३२ वर्षीय युवकलाई कोरोना भाइरस भएको बताएका हुन्।  कतारबाट आएपछि ती युवक काठमाडौंस्थित होटेलमा बसेको पनि ढकालले जानकारी दिए।

ती युवकलाई मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका क्रममा कोरोना देखिएको ढकालले जानकारी दिए।  'उनीसँग भेटेका र सम्पर्कमा पुगेका उनका साथी र अन्य मानिसलाई सम्पर्कमा आउन अपिल गरेका छौं', ढकालले भने, 'कतारबाट आउँदाका उनका साथीहरुबारे पनि जानकारी लिँदैछौं। चाँडो भन्दा चाँडो सबैको विवरण लिएर उनीहरुलाई क्वारेन्टाइनमा राख्छौं।

' बिरामी भएर स्वास्थ्य परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको ढकालले जानकारी दिए।

एयर अरेबियामा

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड-१९) का तेस्रो संक्रमित धादिङ घर भएका ती युवक एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए। उनी मार्च १९ तारिख (चैत ६) गते एयर अरेबियाको उडान नम्बर जी९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।

उनको अहिले टेकु अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। कोरोनाका शंकास्पद बिरामीको टेकु र पाटन अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिँदैछ। सरकारले यसअघि नै भारतसहित अन्य देशबाट आएका सबैले अनिवार्य क्‍वारेन्टाइनमा बस्नै पर्ने प्रावधान गरेको छ। विदेशबाट आएका धेरै नेपाली क्वारेन्टाइनमा नबसिदिँदा कोरोनाको जोखिम बढ्दै गएको छ।  नेपालमा कोरोनाका पहिलो बिरामी चीनबाट आएका थिए। उनी उपचारपछि ठीक भइसकेका छन्।

दोस्रो बिरामी फ्रान्सबाट आएकी थिइन्। चैत ४ गते काठमाडौं आएकी उनको अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। यसअघि फ्रान्सबाट आएकी एक युवतीसँगै चैत ४ मा आएका १५८ यात्रुको पनि सरकारले खोजी गरिरहेको छ। कतार एयरवेजको जहाजमा आएकामध्ये १२५ जनालाई पत्ता लगाइसकेको प्रहरी प्रवक्ता एआईजी शैलेश थापाले बताएका छन्। अन्य ३३ जनाको खोजी भइरहेको उनले जानकारी दिए। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top