होमपेज / समाज
(बर्दिया) — लस्करै फुसका घर । सडकछेउ बाँसका रंगीन पोल । घरअगाडि फोहर राख्ने डालो । सडक कच्ची तर निकै सफा । गाउँमा कागज, प्लास्टिकका टुक्रा देखिँदैनन् । घरअगाडि फूल रोपिएका छन् । बढैयाताल गाउँपालिका–७, समरपुर पुग्ने जोकोही यहाँको सरसफाइ देखेर छक्क पर्छन् । गाउँलाई पूर्ण सरसफाइअन्तर्गत नमुना टोल घोषणा गरिएको छ । गाउँ चिटिक्क बनाउन स्थानीय आफैं लागेका हुन् ।
घरअगाडि सडकसम्म आफैं सफा गर्छन् । घरभित्र उत्पादन हुने सड्ने फोहोरलाई विसर्जन गरी मल बनाउँछन् । नसड्ने फोहोरलाई सुरक्षित स्थानमा लगेर फाल्ने गरेका छन् । गाउँलाई सफा राख्न विभिन्न समिति बनाइएका छन् । सरसफाइ र गाउँको सुन्दरता बढाउन फूल रोप्ने, चर्पी मर्मत तथा व्यवस्थापन, जुठेल्नो निर्माण, व्यक्तिगत सरसफाइ तथा स्रोतकेन्द्र निर्माण, अनुगमन र मूल समिति बनाइएको छ । हरेक घरमा पक्की शौचालय बनाइएका छन् । सरसफाइको महत्त्व बुझेपछि स्थानीय पूर्ण रूपमा जुटेका हुन् । ‘गाउँलाई सफा राख्न विभिन्न समिति बनाएका छौं । समितिले पाएको जिम्मेवारी पूरा गरेपछि सहज भएको छ,’ फूल रोप्ने समितिकी सदस्य राजकुमारी चौधरीले भनिन्, ‘पहिले फोहोर जथाभावी फालिन्थ्यो । अचेल डालोमा संकलन गरेर सुरक्षित स्थानमा फाल्ने गरेका छौं ।’
सरकारले सरसफाइको नीति ल्याएपछि स्थानीय सरकारले अभियान चलाएका छन् । एकैपटक पूर्ण सरसफाइको अवस्था हासिल गर्न असम्भव भएकाले दुई चरणमा कार्यान्वयन गरिंदै छ । पहिलो चरण सफा र स्वच्छ हो । दोस्रो पूर्ण सरसफाइ उन्मुख हो । पूर्ण सरसफाइ घोषणाका लागि निश्चित सूचक तोकिएका छन् । पूर्ण सरसफाइ मार्गदर्शन, २०७३ अनुसार स्थानीय आवश्यकतामा आधारित खानेपानी, सरससफाइ, स्वच्छता, शौचालय, घरको सरसफाइ, भान्साको अवस्था, धाराछेउमा भाँडा माझ्ने र सुकाउने स्थान, करेसाबारी, व्यक्तिगत सरसफाइलगायत सूचक छन् ।
त्यस्तै खुला दिसामुक्त क्षेत्र घोषणा, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ घर, विद्यालय, स्वास्थ्य संस्था एवं कार्यालय, ठोस तथा तरल फोहोरको व्यवस्थापन, ढल तथा मानव मलमूत्र व्यवस्थापन, वातावरणीय सरसफाइ पनि सूचक हुन् । सरकारले सार्वजनिक बजार, राजमार्ग, धार्मिक तथा पर्यटकीय स्थललगायत संस्थागत शौचालय प्रयोगकर्ता–मैत्री बनाउने लक्ष्य राखेको छ । बालबालिकाको दिसालाई सुरक्षित विर्सजन, साबुनपानीले हात धुने, घर, संस्थागत निकाय, सार्वजनिक शौचालय, होटल, क्यान्टिन आदिमा साबुनपानीसहित हात धुने स्थानकोनिर्माण गरिनेछ ।
सरसफाइ अभियानमा लागेकी फूलकुमारी चौधरीले गाउँलाई पूर्ण सरसफाइ घोषणा गर्न निरन्तर लागेको बताइन् । उनले आफ्नो घरअगाडिको सडक स्थानीयले दैनिक आफैं सफा गर्ने गरेको जनाइन् । त्यससँगै धाराको अवस्था, भाँडा माझ्ने स्थान, साबुनपानीले हात धोएर खाना खानेलगायत कार्य निरन्तर भइरहेको उनले बताइन् । ‘समूह बैठकमा घरको सरसफाइबारे छलफल हुन्छ । सुझाव
लिनेदिने गर्छौं,’ उनले भनिन्, ‘सरसफाइमा हामी संवेदनशील छौं ।’





.jpg)