होमपेज / समाज
सल्यान, २८ मंसिर
लामो समय सम्म टिकाउ हुने र अस्तित्वमा रहने विकास आवश्यक रहेकोमा कपुरकोटमा आयोजित कार्यशाला गोष्ठीका सहभागीहरुले जोड दिएका छन् । यसका लागि जनप्रतिनिधी, नागरिक समाज र विभिन्न संघ संस्थाहरुको प्रभावकारी समन्वयको खाँचो गोष्ठीका सहभागीहरुले औँल्याएका छन् ।
सुसाशनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत जनकेन्द्रीत विकास अवधारणाका लागि प्रशंसा सहितको तीन दिने कार्यशाला गोष्ठीको समापन अवसरमा आइतबार आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले विकास निर्माणका कार्यमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । नागकिर केन्द्रीत विकासका लागि तालिम, अभिमुखीकरण अति आवश्यक रहेकोमा जोड दिँदै कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेको सेनले तालिमले मानिसलाई पूर्ण बनाउने र विकासका लागि नयाँ भिजन श्रृजना हुने उल्लेख गरे ।
कार्यशालाका सहजकर्ता सहकर्मि समाज कोहलपुरका वरिष्ठ संस्थागत क्षमता विकास संयोजक राजाराम गुप्ताले जनकेन्द्रीत विकास अवधारणा तथा आम नागरिकमा सकारात्मक सोँच विकासका लागि आफु गाउँपालिका संग सहकार्य गर्न इच्छुक रहेको बताए । दलित विकास समाज सल्यानका कार्यक्रम संयोजक गुमानसिंह नेपालीले सञ्चालन गरेको कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले तालिमबाट अव अझै धेरै सुधारात्मक काम गर्न सकिने आँट आएको बताइन् ।
यस्तै वडा अध्यक्षहरुको तर्फबाट बोल्दै कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेनले भौतिक सँगसँगै सामाजिक विकास भए मात्रै विकासको आयाम पूरा हुने धारणा राखे । यस्तै कपुरकोट गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले सकारात्मक सोँचबाट नै विकासलाई दिगो बनाउन सकिने विषयमा कार्यशालाले महत्वपूर्ण शिक्षा दिएको बताए । नागरिक समाजका हुकुम विक र माया पुनले योजनाको छनोट, कार्यान्वयन, मर्मतसम्भार लगायतका हरेक चरणमा जनसहभागिताको महत्वको बारे छर्लंग भएको बताए । यसैवीच दलित विकास समाज सल्यानले सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकामा सार्वजनिक लेखा परिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ ।





.jpg)