होमपेज / समाज
मंसिर २५,सल्यान
ग्रामीण क्षेत्रमा समेत प्लाष्टिकका सामानहरु बढ्न थालेपछि बाँसका सामान बनाउने पेशा संकटमा पर्दै जान थालेको छ । बाँसका सामानलाई आफ्नो परम्परागत पेशाबाट जीविकोपार्जन गर्दै आइरहेका यहाँका किसानहरु पछिल्लो समय प्लाष्टिकका सामान आउन थालेपछि चिन्तित हुन थालेका छन् ।
बाँसका चोयाबाट डोको, भकारी, थुन्चे, डाली , नांलो बनाउदै आएका धेरैजसोले पेशा छाड्दै जानथालेका छन् । गाउँगाउँमा शहरबाट आयातित प्लाष्टिकका सामान छ्यापछ्याप्टी पाइनथालेपछि आफुहरुको परम्परागत जीविकोपार्जनको पेशा संकटमा पर्दै जानथालेको व्यवसायीहरुको भनाई छ ।
झट्ट हेर्दा आर्कषक, सस्तो र सुलव रुपमा पाइने भएपछि बाँसबाट बनेका सामानको माग निकै कम हुन थालेको कुमाख गाउँपालिका वडा न ३ राम्रीका रमेश पुनले बताए । उनले भने ‘पहिले पहिले बाँस र निगालोबाट बुनेका सामान मात्र प्रयोग हुन्थ्यो आजभोली बजारमा जस्तो खोजे पनि पाइन्छ सबै प्लाष्टिकका सामान किन्न लागि परेका छन् ।’ विगतमा महिनामा ३० देखि ४० वटासम्म डोको विक्रि हुने गरेकोमा आजभोली महिनामा मुस्किलले १५ देखि २० वटासम्म बिक्रि हुने गरेको पुनले बताए ।
बाउबाजेको गर्दै आइरहेको परम्परागत पेशालाई निरन्तरता दिन निकै समस्या हुने गरेको कपुरकोट गाउँपालिका दानवाङका हरि बहादुर डाँगीले बताए । निमार्ण गरिएका सामाग्री बजारमा पहिले जति माग हुन्थ्यो अहिले निकै घटेर आउने गरेको उनले बताए । उनले भने ‘हुन त परम्परागत पेशाबाट चकक्कै हात धुनु परेको त छैन तर हिजो बाँसका सामान खोजी खोजी राख्ने चलन थियो भने आजभोली धार्मिक कार्यका लागि चाहिने टोकरी, डकनी र डोकोको मात्र थोरै माग हुने गर्दछ ।’
बाँसको चोयाबाट बनेको सामानको विक्रि गर्न जाँदा झाँपी र टोकरीको माग धेरै हुने दानवाङका अर्का किसान देविराम बुढाले बताए । यी सामाग्री विवाह, पुजाआजामा बढि प्रयोगमा आउने गर्छ उनले भने । झाँपीको ५००, टोकरीको २०० रुपैयासम्म विक्रि गर्ने गरेको उनको भनाई छ ।





.jpg)