ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा खानेपानीका ८९ योजना अलपत्र

  सल्यान खबर २०७७ आश्विन २७ गते मंगलबार १२:५२:४७ मा प्रकाशित

सल्यान — २०५४ सालमा २० लाख रुपैयाँ खर्चेर बन्गाडकुपिण्डे नगरपालिका–१२ निगालचुलामा सादनबास खानेपानी योजना निर्माण गरियो 

एक वर्ष नबित्दै योजना बिग्रिएपछि अहिले निगालचुलाका २६ घरपरिवार खोलाको दुषित पानी उपभोग गर्न बाध्य छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले नै २०६० सालमा निर्माण गरेको दम्दवाली खानेपानी योजना पनि बिग्रिएपछि कालीमाटी गाउँपालिका–५ का बासिन्दा पनि खोलाकै पानीको भरमा छन् । योजना जीर्ण बनेपछि १० वर्षदेखि आकासे पानी र खोलाको पानीको भर पर्नु परेको स्थानीय बासिन्दाको गुनासो छ ।

यी दुई योजना मात्र होइन, जिल्लाभरिका ८९ योजना जीर्ण भइ अलपत्र परेपछि सल्यानका अधिकांश बासिन्दा स्वच्छ खानेपानीको सुविधाबाट वञ्चित छन् ।

खानेपानी तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका ३६ हजार घरपरिवारमध्ये ५ हजार ८ सय घरमा अझैं खानेपानी सुविधा छैन । शारदामा १३, बाग्चौरमा १८, बन्गाडकुपिण्डेमा १३, कालीमाटीमा ८ र दार्मामा ७ खानेपानी योजना अलपत्र परेका छन् । त्यस्तै, सिद्धकुमाखमा ८, त्रिवेणीमा ९ र छत्रेश्वरमा १० सहित ३ जिल्लास्तरीय योजना अलपत्र परेको कार्यालयले जनाएको छ ।

झण्डै १० करोड रुपैयाँ खर्च भएका जिल्लाभरिका योजना बिग्रिएपछि स्थानीयले लामो समयदेखि खानेपानीको संकट व्यहोरिरहेको डिभिजन प्रमुख पदमराज देवकोटाले बताए । उनका अनुसार बाढी–पहिरोका कारण सबैभन्दा धेरै योजना अलपत्र परेका हुन् । ‘केही योजनाको मुहानमा पानी सुकेर पनि समस्या भएको छ,’ उनले भने, ‘कुनै योजना उपभोक्ताको लापरबाहीले तहसनहस भएका छन् ।’

कालीमाटी गाउँपालिकाको दम्दवालीमा २ योजना जीर्ण बनेपछि वर्षौदेखि शारदा र बबई नदीको पानी उपभोग गर्नुपरेको स्थानीय शिक्षक सुरेश गाहामगरले बताए । ‘गाउँपालिकाले निर्माण गर्न लागेको योजना पनि अलपत्र पर्दा खानीपानीकै कारण ठूलो सास्ती भोगिरहेका छौं,’उनले भने, ‘योजना दिगो नहुँदा सरकारी लगानी बालुवामा पानीजस्तै भएको छ ।’

शारदा नगरपालिका–१४ माल्नेटामा निर्माण गरिएको योजना पनि जीर्ण बनेपछि १० वर्षदेखि खोलाको पानी प्रयोग गरिरहेको स्थानीय ज्ञानबहादुर घर्तीले बताए । ‘पुरानो योजना तहसनहस बन्यो, नयाँ योजना बन्ने सुरसार छैन,’ उनले भने, ‘बिहानै उठेर पानीका लागि खोलामा लाइन बस्नुपर्ने बाध्यता छ ।’

खानेपानी डिभिजनका अनुसार २०४५ सालयता जिल्लाभरि १ हजार २२ वटा खानेपानी योजना सम्पन्न भएका छन् । मर्मतका लागि बजेट कम हुँदा अधिकांश पुराना योजना अलपत्र परेको डिभिजन प्रमुख पदमराज देवकोटाले बताए । उनका अनुसार गत वर्ष ३६ योजना सुरु गरिए पनि कोरोना महामारीका कारण ४ वटा मात्र सम्पन्न भए । ‘बजेट अभावमा नयाँ योजना पनि समयमै सम्पन्न हुन समस्या छ,’ उनले भने, ‘क्रमागत योजना निर्माण सम्पन्न नहुँदै जीर्ण बन्ने जोखिमसमेत छ ।’
Ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

Top