होमपेज / समाज
साउन २५, सल्यान
सल्यानमा समृद्धिका लागि सामुदायिक वन, उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाइएको छ ।
वि.स. २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकपार्कमा रहेको वन क्षेत्रलाई स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाउँदै आएको सामुदायिक वन उपभोक्ता महासंघ सल्यानले जनाएको छ ।
कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्यमा आवश्यक मापदण्ड पालना गरी कार्यक्रम गरिएको सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष सरिता हमालले बताइन ।
फेकोफन सल्यानले चन्द्रपाला पिकनिक पार्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले स्थापनाकालदेखिको अवधिमा सामुदायिक वन अभियानले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको बताउँदै उनले वन संरक्षण संवद्र्धन र सदुपयोगमा पनि महत्वपूर्ण स्थान ओगटेको दाबी गरे । यसवर्ष “समृद्धिका लागि सामुदायिक वन , उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान” भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाउन लागिएको छ ।
अध्यक्ष शर्मा भने, “सामुदायिक वन उपभोक्ता समूहले आफनो स्थापनादेखि नै गरेको सङ्घर्ष बलिदानीका कारण ३९ प्रतिशत रहेको वन क्षेत्र आज ४४.७४ प्रतिशतमा पुगेको छ, यो आन्दोलन अभियान र पैरवीको कारणले नै आज सामुदायिक वनको देशव्यापी विस्तार सम्भव भएको हो । यसैको परिणामस्वरुप जैविक विविधताको संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा ठूलो योगदान पुगेको छ ।”
डिभिवन वन कार्यालय सल्यानका निमित्त डिभिजन प्रमुख दिपेश केसीले जनताको अर्थपूर्ण सहभागिताबाट मात्र वनको दिगो विकास सम्भव रहेको बताए । प्राकृतिक स्रोत व्यवस्थापनका लागि जनताको सक्रिय सहभागिता अनिवार्य हुने उनको भनाई छ ।
यस्तै शारदा नगरपालिका वडा न २ का वडाध्यक्ष केशव सिहं श्रेष्ठले मानव जातिको अस्तित्व वनसँग जोडिएको बताए । वनको सहि व्यवस्थापन हुन नसकेको त्यसको प्रत्यक्ष असर मानवजातीमा पर्ने उनको भनाई छ ।





.jpg)