ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा अदुवा उत्पादनमा वृद्धि

  सल्यान खबर डेस्क २०८२ चैत्र १४ गते शनिबार १७:३५:३५ मा प्रकाशित

विगतका वर्षहरूमा बिक्री नभएर निराश बनेका सल्यानका अदुवा किसानहरू पछिल्लो दुई वर्षयता अदुवाले राम्रो मूल्य पाउँदा हर्षित भएका छन् । नगदेबालीका रूपमा रहेको अदुवा उत्पादन गरेर वर्षौँदेखि जीविका चलाउँदै आएका कृषक दुई वर्षयता अदुवाले बजार र राम्रो मूल्य पाएपछि खुसी भएका छन् । 

गत वर्ष ३५ क्विन्टल बिक्री गरेका बागचौर नगरपालिका– ७ का दीपेश डिसीले यो वर्ष ५० क्विन्टल अदुवा बिक्री गरेको बताए । ३५ डोका बिउका लागि राखेको उनको भनाइ छ । उनले भने, ‘अदुवाको मूल्य स्थिर नहुँदा अदुवा खेतीमा लगानी गर्ने कि नगर्ने भन्नेमा किसान दोधारमा छन् । 

उत्पादन भएको वर्ष मूल्य जाँदैन । कम उत्पादन गरेको वर्ष राम्रो मूल्य पाइन्छ । तर, विगत दुई वर्षदेखि अदुवाले उचित मूल्य पाइरहेको छ ।’ बिउ नछानेको अदुवा प्रतिक्विन्टल पाँच हजार पाँच सय र बिउ छानेको चार हजार पाँच सय रुपैयाँ क्विन्टल बिक्री गरेको डिसीको भनाइ छ । यो वर्ष ४५ डोकाजति अदुवा लगाउने योजनाका साथ बिउ राखेको उनको भनाइ छ । यस्तै, छत्रेश्वरी गाउँपालिका– २, दहखोलाका डम्बर महरले पछि यो वर्ष ६ क्विन्टल अदुवा बिक्री गरेको बताए । एक क्विन्टल लगाएकोमा ६ क्विन्टलसम्म फलेको उनको भनाइ छ । चार हजार रुपैयाँ क्विन्टलका दरले आफूले अदुवा बिक्री गरेको महरले बताए । उनले भने, ‘अदुवाले राम्रै मूल्य पाएको छ । किसानले गरेको लगानीअनुसार मूल्य नभए पनि विगतका वर्षहरूको तुलनामा राम्रै मूल्य पाइरहेको छ । यस वर्ष ६ क्विन्टल अदुवा लगाउने सोचमा रहेको छु ।’ कृषि विकास कार्यालय सल्यानका अनुसार सल्यानमा एक हजार चार सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आइरहेको छ । चालू आर्थिक वर्षमा २० हजार नौ सय ५० मेट्रिकटन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका ईश्वरनारायण घर्तीले जानकारी दिए । 

गत आर्थिक वर्ष एक हजार चार सय २० हेक्टर क्षेत्रफलमा २० हजार नौ सय नौ मेट्रिकटन अदुवा उत्पादन भएको थियो । क्षेत्रफल समान भए पनि गत आर्थिक वर्षभन्दा चालू आवमा उत्पादनमा वृद्धि आएको उनको भनाइ छ । यस वर्ष किसानले ४० देखि ५० रुपैयाँ किलोका दरले अदुवा बिक्री गरेको घर्तीले बताए । सल्यानको अदुवा दाङ, सुर्खेत, नेपालगन्ज र भारतसम्म जाने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top