होमपेज / स्वास्थ्य
सल्यान, १४ मङ्सिर ।
सल्यानको छत्रेश्वरी गाउँपालिकामा अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, सुरक्षा, र अवसरमा पहुँच वृद्धि गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरिएको छ । दुई स्थानमा शिविर सञ्चालन गर्ने उद्देश्य अनुरूप शुक्रवार छाया क्षेत्र स्वास्थ्य चौकी, भोटेचौरमा शिविर सञ्चालन गरिएको हो ।
यस शिविरमा १६८ जनाले नाक, कान, घाँटी, मानसिक स्वास्थ्य, हाड जोर्नी र नसा सम्बन्धी स्वास्थ्य जाँच तथा परामर्श सेवा प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । जटिल समस्या भएका बिरामीहरूलाई थप उपचारका लागि रिफरको सिफारिस गरिएको छ ।
शिविर अन्तर्गत भोली शनिवार वडा नं १ स्थित भानुभक्त माध्यमिक विद्यालयमा अपाङ्गता भएका सम्भावित विद्यार्थीहरूको पहिचान, मूल्याङ्कन र आवश्यक सहयोगका लागि कार्यक्रम सञ्चालन हुनेछ।
यस प्रकारको शिविरले बालबालिकाको अपाङ्गता पहिचान, मूल्याङ्कन र आवश्यकताबारे जानकारी मिल्ने भन्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले
बालबालिकाको शारीरिक, मानसिक, र सामाजिक आवश्यकतालाई मध्यनजर गरी उनीहरूको शैक्षिक यात्रा सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
छत्रेश्वरी गाउँपालिकाको आयोजना, स्ट्रिट चाइल्ड अफ नेपालको प्राविधिक सहयोग र आसमान नेपालको समन्वयमा शिविर सञ्चालन भएको हो । शिविरमा विशेषज्ञ डाक्टरहरू ईश्वरी खनाल, प्रशान्त पौडेल र क्षितिज सापकोटा सहित स्वास्थ्यकर्मीको टिमले चेकजाँच तथा उपचार गरिरहेको छ ।
वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो। शिविरमा शिक्षा शाखा प्रमुख केशर वलीले स्वागत मन्तव्य राखेका थिए भने स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले कार्यक्रम सञ्चालन गरेका थिए ।
गाउँपालिकाले यस्ता शिविरमार्फत स्थानीयको स्वास्थ्य र शैक्षिक पहुँच वृद्धि गर्दै दीर्घकालीन सुधार गर्ने लक्ष्य राखेको छ।