होमपेज / समाज
सिद्धकुमाख गाउँपालिकाले शिक्षा र कृषिलाई सँगसँगै प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरूलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामग्री र फर्निचर तथा कृषकलाई मिनिटिलर (हाते ट्र्याक्टर) हस्तान्तरण गरेको छ। गाउँपालिकाले गुणस्तरीय शिक्षाको पहुँच विस्तार र कृषिमा यान्त्रीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरेको जनाएको छ।
गाउँपालिका अध्यक्ष भरत गिरीको अध्यक्षतामा आयोजित वृहत् हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत अर्जुनजंग शाह, सामाजिक विकास समिति संयोजक खर्कवीर रोका, वडा नं. १ का वडा अध्यक्ष रमेश चलाउने, वडा नं. २ का वडा अध्यक्ष मेकबहादुर बुढाथोकी, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि तथा मिनिटिलर प्राप्त गर्ने कृषकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँ शिक्षा समितिको निर्णयअनुसार सामुदायिक विद्यालयहरूलाई आवश्यक आईसीटी सामग्री तथा फर्निचर हस्तान्तरण गरिएको हो। गाउँपालिकाले विद्यालयमा प्रविधिमैत्री सिकाइ वातावरण निर्माण गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यका साथ सामग्री उपलब्ध गराएको जनाएको छ।
त्यसैगरी वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका पाँचवटै वडाका तीन/तीन जना गरी १५ जना कृषकलाई मिनिटिलर हस्तान्तरण गरिएको छ। कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाई उत्पादन लागत घटाउने, श्रमको अभावलाई न्यूनीकरण गर्ने तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले मिनिटिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भरत गिरीले शिक्षा र कृषि गाउँपालिकाको विकासका दुई प्रमुख आधार भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयमा आईसीटी सामग्री उपलब्ध गराउँदा विद्यार्थीले आधुनिक प्रविधिमार्फत अध्ययन गर्ने अवसर प्राप्त गर्ने र शिक्षकलाई पनि शिक्षण कार्य सहज हुने बताउनुभयो।
अध्यक्ष गिरीले कृषिमा यान्त्रीकरण अपरिहार्य बन्दै गएको उल्लेख गर्दै मिनिटिलर वितरणले किसानको श्रम, समय र उत्पादन लागत घटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाले आगामी दिनमा पनि शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
उपाध्यक्ष रामबहादुर बस्नेतले स्थानीय सरकारको लगानीबाट शिक्षा र कृषि क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने प्रयास भइरहेको बताउनुभयो। उहाँले उपलब्ध गराइएका सामग्रीको सही उपयोग गरी शिक्षाको गुणस्तर अभिवृद्धि र कृषि उत्पादन वृद्धि गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले आईसीटी सामग्रीले डिजिटल शिक्षणलाई थप प्रभावकारी बनाउने प्रतिक्रिया दिएका थिए भने कृषकहरूले मिनिटिलर प्राप्त भएपछि खेतीपाती गर्न सहज हुने र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
सिद्धकुमाख गाउँपालिकाले आगामी दिनमा पनि शिक्षा, कृषि तथा स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिँदै समृद्ध गाउँपालिका निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।





.jpg)