ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका तीन कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

  सल्यान खबर २०८३ असार ३१ गते बुधबार १८:३६:२३ मा प्रकाशित

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’बाट सल्यानका तीनजना कृषक सम्मानित भएका छन्।  कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याई व्यावसायिक खेती तथा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत तीन कृषकलाई सम्मान गरिएको हो।

बागचौर नगरपालिका–७, मारिचौरका तारादेव वली प्रथम, बागचौर नगरपालिका–७ कै शोभाराम वली द्वितीय तथा त्रिवेणी गाउँपालिका–४ का पोषणराज रावत तृतीय भएर सम्मानित भएका हुन्।

तारादेवले ३५ रोपनी क्षेत्रफलमा व्यावसायिक अदुवा खेती र पाँच हजार ब्रोइलर कुखुरापालन गर्दै आएका छन्। वलीको कृषि उद्यममा दुईजना नियमित कामदार र दैनिक सरदर सातजना ज्यालादारी कामदारले रोजगारी पाइरहेका छन्। वार्षिक करिब ८० लाख रुपैयाँबराबरको कारोबार गर्दै आएका उनको कृषि क्षेत्रमा करिब दुई करोड रुपैयाँ लगानी छ। प्रथम स्थान हासिल गरेबापत उनले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी, शोभारामले सुन्तला, कागती, ओखर तथा टिमुरका कलमी र बिजु बिरुवा उत्पादन गर्दै आएका छन्। वलीले वार्षिक २८ हजारभन्दा बढी बिरुवा बिक्री गर्नुका साथै ४ सय बोट सुन्तला खेती तथा २० रोपनी क्षेत्रफलमा अदुवा र बेसार खेती गरेका छन्। उनको वार्षिक कारोबार करिब ३४ लाख रुपैयाँ रहेको छ। द्वितीय स्थान हासिल गरेबापत उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

सम्मानित हुने अर्का कृषक रावतले व्यवसायिक तरकारी खेतीमार्फत राम्रो उदाहरण प्रस्तुत गरेका छन्। उनले गोलभेंडा, बन्दा, काउली, सिमी, बोडी र काँक्रो लगायतका तरकारी उत्पादन गर्दै आएका छन्। उनले एक वर्षमा २१ टनभन्दा बढी तरकारी बिक्री गर्न सफल भएको बताए।

पुरस्कृत कृषकहरूलाई एक विशेष कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकी तथा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले खादा, माला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन्।

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमले कृषि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका कृषकहरूको पहिचान, सम्मान तथा प्रोत्साहन गर्दै व्यवसायिक कृषि प्रवद्र्धनमा टेवा र्पुयाउने अपेक्षा गरिएको छ। सल्यानका यी तीन कृषकले कृषि पेशालाई सम्मानित र आम्दानीमुखी व्यवसायका रूपमा स्थापित गर्न उल्लेखनीय योगदान र्पुयाएको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top