होमपेज / बिचार / सम्बाद
धौलागिरि रेन्जको दक्षिणी खोचबाट निस्किने सानिभेरी ,उत्तरी खोचबाट निस्किने ठुली भेरी र ढोरपाटन भ्याली पार गर्दै निस्किने उत्तर गङ्गाको सङ्गमबाट बन्ने भेरी नदी रुकुम पूर्व, रुकुम पश्चिम , डोल्पा, जाजरकोट, सल्यान , सुर्खेत हुँदै कर्णाली नदीमा मिसिन्छ । सल्यान पश्चिमको करिब ५० किलोमिटर दुरी पार गर्ने भेरी नदीको अर्को तर्फ जाजरकोट र सुर्खेत जिल्ला पर्दछ ।
वार्षिक औसत ३५० घन मिटर प्रतिसेकेन्डको डिस्चार्जमा बहने नदीमा बनगाड क्षेत्रमा सङ्ग्रहिखोला र बनगाड खोला मिसिन्छ । बजार क्षेत्र र खेतीयोग्य जमिनालाई लाभ दिन सक्ने यो नदी सल्यानको कुमाख साथै बनगाड कुपिन्डे नगरपालिकाको क्षेत्रलाई समेट्दै सुर्खेतमा प्रवेश गर्दछ । प्रकृतिको उपहार भेरी नदिलाई प्रविधिको सहायताबाट उच्चतम लाभ लिन सकिन्छ ।
सिचाइ
कृषि उत्पादनको लागि उर्वर भूमि बनगाडभित्र ठुला ठुला फाटहरु छन् । राइरा, लाहघाट, कारागाउ, धारागाउ ज्युला, नाम्रा , बुरेलि, घाटगाउ, सल्लिबजार, देबस्थल, आम्रा, आपखोलि, बालुवासङ्ग्रहि, रैकरका खेतीयोग्य जमिन भेरी नदीले सहजै सञ्चित गर्न सकिने क्षेत्र हुन ।
कृषि उत्पादनको हिसाबले धान ,गुह , मकै, कोदोका साथै प्याज, लसुन, कालोजरन बनगाडि धान, बदाम र तरकारी उत्पादनको लागि उच्च सम्भावना भएको बनगाडमा आधुनिक कृषि उत्पादनका निम्ति भेरी नदीको पानीबाट साना, मझौला तथा बृहत् लिफ्ट सिचाइको माध्यमबाट बाह्रै महिना सिचाइ गर्न सकिन्छ ।
गुणस्तरीय खानेपानी
बनगाड कुपिण्डे नगरपालिकाका मुख्य बजारहरूमा गुणस्तरीय खानेपानीको चरम अभाव छ । बजार क्षेत्र सल्लीबजार, देबस्थल, बालुवा सङ्ग्रही का साथै पशुपालनको लागि सम्भावना हुने गाउँहरू माल्पे पानेखोला, ज्यामिरे रैकर भर्सिला, बेतेनी, बामे, छहरा पाटके, लगायतका क्षेत्रमा खानेपानीको साथै बस्तुभाउलाई आवश्यक पर्ने पानी भेरी नदीको किनारमा डिपवेल ,सम्पवेल , इन्फिल्ट्रेट बेल निर्माण गरी खानेपानीको सहज आपूर्ति गर्न सकिन्छ ।
जलयात्रा (र्याफ्टिङ्ग)
अन्य नदीहरु भन्दा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम छ ।जलयात्रा सुचारु गर्न सके आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहेको बनगाड कुपिण्डेको राइरा देखि रैकर सम्मको दुरी ५ घण्टामा पार गर्न सकिन्छ । वैशाख ज्येष्ठ महिनाको समयमा परीक्षण गर्दा सफल देखिएको जलयात्रामा पूर्वाधार निर्माण, जनशक्तिको व्यवस्थापन गर्न सके आर्थिक वृद्धिमा ठुलो सहयोग मिल्नेछ ।
नदजन्य पदार्थ निकासी तथा बिक्री वितरण
बर्सेनि सरदर बाइस लाख क्युबिक फुट ढुङ्गा, गिट्टी , बालुवा, मोरङ भेरी नदीले जम्मा गर्ने गर्दछ । सङ्कलित नदजन्य पदार्थलाइ व्यवस्थित गर्न नसक्दा स्थानीयले उठाएर लैजाने, खोलाले बगाउने , परिमाण यो भन्दा बढी छ । कम्तीमा तीन ठाँमा घाट्गद्दि व्यवस्थापन गरी बिक्री वितरण गर्न सकियो भने आन्तरिक आय वृद्धि गर्न सकिन्छ ।
व्यवस्थित मत्स्य उत्पादन
बनगाड क्षेत्रमा भेरी नदीको बहाव टर्बुलेन्स धेरै नभएको र नदीको फैलावट धेरै भयकोले माछाको राम्रो बसोबास हुने गर्दछ ।
अव्यवस्थित तरिकाले माछालाई पासा हाल्ने, बल्छी थाप्ने, जाल हानेर माछा मारिरहेको अवस्थाबाट राज्यले नै यसलाई व्यवस्थित गरी माछाका थप प्रजाति र परिमाण थप गरी माछा हुर्कने समयमा भुराहरू छोडी ब्यबसायिक मत्स्य उत्पादन गर्न सकियो भने राम्रो आम्दानी लिन सकिने सम्भावना छ । लदिने खासै असर नगर्ने क्षेत्र भएकोले नदी नियन्त्रणमा धेरै लगानी गर्नु पर्ने देखिँदैन बढी स्काउट गर्ने टाउको पहिचान गरी सतर्क चाहिँ रहनु आवश्यक रहन्छ । प्रकृतिले दिएको अनुपम उपहार भेरी नदीलाइ समयानुकूल प्रविधिको सहायताबाट सदुपयोग गर्न नसक्दा कुनै पनि लाभ लिएको देखिँदैन ।
लेखक महेश देवकोटा इन्जिनियर बनगाड कुपिण्डे नगरपालिका सल्यान