ट्रेण्डिङ

होमपेज / बिचार / सम्बाद

आत्महत्या: एक समस्या र समाधानका उपायहरु

  सल्यान खबर डेस्क २०७७ चैत्र १३ गते शुक्रबार १७:३२:०९ मा प्रकाशित

 गत मंसिरदेखि चैत्रसम्म सल्यानमा मात्रै ५१ जनाले आत्महत्या गरे । यो अत्यन्तै डरलाग्दो अबस्था हो । प्राय सबै उर्जाशिल उमेरका नागरीकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि छन् आत्महत्याको प्रयास गर्नेमा भने पुरुषको दाँजोमा महिका बढी छन् । यो भयावहको अबस्था सल्यानमा मात्र हैन देशैभर यसरीनै समाज आक्रान्त बन्दै गइरहेको छ । विश्वभर भयावह रुपमा बढिरहेको आत्महत्याबाट दैनिक हजारौंको ज्यान गैरहेको छ भने जसको कारण समाजले ठुलो मानविय क्षेति व्यहोरिरहेको छ। तर पनि यसको समाधानको लागि कँहि कतैबाट ठोस पहल भएको भने पाँईदैन । नेपालको सन्दर्भमा पनि बिष सेवन, झुण्डि आत्महत्याबाट ज्यान गुमाउनेको संख्या अत्याधिक छ । आत्महत्या रोकथाम नियन्त्रण तथा न्यूनिकरणको लागी जिम्मेवार निकाय को हुन् भन्नेनै यकिन नभएको जस्तो मौन र बेखबर झैं लाग्छ । यसै परिप्रेक्षमा आत्महत्या दुरुत्साहन गर्न नहुने मुद्दा फौजदारी अपराधको रुपमा अहिलेको कानुनले अंगिकार गरेको छ ।

नेपाल प्रहरीले अनुसन्धान गर्ने यो मुद्दामा प्रहरीले घटना कसरी र के के भएको थियो यसमा संलग्नता को कसको थियो भन्ने सम्म अनुसन्धान गर्छ । आगामी दिनमा समाजमा यो घटना हुन गर्न नदिन के गर्ने भन्ने बिषय झन महत्वपुर्ण र आवश्यक हो । यो सम्बन्धमा कुनै कार्याक्रमनै नभएका भने होईन । तर प्रयाप्तता भने प्रहरीले मात्र सम्भव छैन । यो संग सम्बन्धित सरोकारवाला निकाय वा संस्था ब्युँझिन जरुरी हो । समाजको निकै जटिल समस्याको रुपमा रहेको आत्महत्यालाई न्युनिकरण गर्न के गर्न कसिन्छ? रोकथामका उपाय के हुन सक्छन्? यो  हामी सबैको चासोको बिषय भने अबस्य हो ।

  • आत्महत्या के हो ?

जानी जानी आफ्नो जीवन आँफेले अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ । आफ्ना समस्यालाई उचित तरिकाले समाधान गर्न नसकि असहाय र निराश भएको ठानी आँफुले आँफैलाई सिध्याउने गरिन्छ । आत्महत्या एक जटिल मनोवैज्ञानिक तथा जैविक एवंम् सामाजिक जटिलता हो । धार्मीक तथा सामाजिक मान्याताले आत्महत्यालाई एक पापकर्मको रुपमा लिएता पनि आधुनिक समाजले यसलाई एक मनोसामाजिक जटिलता संगै गम्भिर मानसिक स्वास्थ्य समस्याका रुपमा लिएको र यसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्तै संवेदनशिल चिकित्सकिए विपद (Medical Emergency) को रुपमा हेरिन्छ । विश्व स्वास्थ्य संघठनका अनुसार बर्षेनि करिब  १०.५ लाख मानिसहरु आत्महत्या गरेर मर्ने गर्छन् । विश्वका हरेक ५ जनामा १ जना मानसिक स्वास्थ्य समास्या भएको तथ्याङक देखिन्छ । आत्महत्याका कारण हरेक ४० सेकेण्डमा एक जनाको मृत्यू हुने गरेको  तथ्याङ्क छ । यो संख्या समस्त प्राकृतिक तथा मानव निर्मित प्रकोप, युद्द, आतंककारी हमाला, हत्या र हिंसाहरुबाट हुने बार्षिक मृत्युदर भन्दा पनि बढी हो । मानव मृत्यूका प्रमुख कारण मध्य आत्महत्या पनि एक भएकोले यसको रोकथाम र न्यूनिकरण प्रति हरेक समुदाय र सम्बद्द सबै निकायले चासो देखाउनु अति जरुरी  छ ।

  • आत्महत्या किन हुन्छ?

आत्महत्याको कारणलाई ब्याख्या गर्ने हालसम्मका बिभिन्न बैज्ञानिक सिद्दान्त पुर्ण भने छैनन् । यसमा थुप्रै तत्वहरु (जैविक, वंशाणुगत, सामाजिक तथा मनोवैज्ञानिक पक्षहरु) को भुमिका हुने गरेको पाईएको छ ।आत्महत्याको प्रयास गर्नेहरु मध्य झण्डै ९५% प्रतिशत मानसिक रुपले अस्वस्थ भएको विश्वाब्यापी तथ्याङ्क छ । मानसिक रोग भन्नाले पुरै विक्षिप्त भएर जथाभावि गरी हिड्ने मात्र नभई शारीरिक रुपमा स्वस्थ तर आफु वरिपरिको वातावरण संग मेलमिलाप नभई भित्र भित्रै पिडित भएकाहरु पनि पर्छन् । ति मध्य अस्वभाविक रुपमा उदास भैराख्ने, उदासि, Depression, Anxiety, Phobia, PTSD, OCD, Personality disorder, Stress Disorder, Bipolar Disorder, Schizophrenia  जस्ता मनोरोगहरु आत्महत्याको मुख्य कारण मानिन्छ ।  

कहिले काँही आकस्मीक र आप्रत्यासित घटनाले गर्दा पनि मान्छेले तत्काल पैदा भएको सनकलाई नियन्त्रण गर्न नसकी आत्महत्या गरेको पाईन्छ । Impulsive Behavior को कारण पनि ठुलो संख्यामा आत्महत्या हुने गरेको छ ।  जस्तैः-परिक्षामा फेल हुनु, असफल हुनु, तत्कालको माग वा ईच्छा चाहना पुरा नहुनु, पारपाचुके हुनु, बिछोड हुनु, प्राकृतिक प्रकोपले सम्पति तथा मानवीय ठुलो क्षेति हुनु, प्रिय मान्छेको निधन हुनु, सामाजिक बहिष्कार हुनु, अत्यन्तै तिरष्कृत हुनु, अपहेलित तथा अपमानित हुनु, व्यापार व्यबसायमा ठुलो घाटा हुनु वा लगानी डुब्नु आदि कारणले तत्कालै उब्जेको मानसिक सोँचलाई नियन्त्रण गर्न नसकि गरने आत्महत्या भने पुर्व योजना मुताबिक नभई तत्काल पैदा भएको सनकबाट भएको मानिन्छ ।

  • आत्महत्या कसरी गर्छन् ?
  • झुण्डिएर, किटनाशक औषधि वा बिष सेवन गरेर, पानीमा डुबेर, ऊचाईबाट हाम फालेर, हतियारको प्रयोग गरेर,लागु औषध सेवन गरेर, शरीरमा आगो लगाएर आदी । आत्महत्या कासरी सजिलै गर्न सकिन्छ भनेर विभिन्न उपायको खोजी गरेर मात्र छनौट गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । पहुँच हुनेले गुगल सर्च समेत गरेर आत्महत्याको तरिका बारे खोजी गरेको पाईएको छ । मर्ने सजिलो तरिका गुगलमा खोजी गर्ने क्रममा साईकियाट्रिस्टको सल्लाह लिनुहोला भनेको देखेर साईकियाट्रिस्टको सल्लाह लिई ज्यान जोगाएका घटना पनि नेपालमा भेटिन्छन् । कहिले काँहि नजिक नजिकको समुदायमा एकैपटक धेरैजनाले आत्महत्या गरेका खबर पनि हामी सुन्ने गरेका छौं । यसमा पनि आत्महत्या कसरी गर्ने भनेर खोजी गरिराखेकाहरु आफ्नै समाजमा कोहि कसैले आत्महत्या गरेको थाहा पाएमा उसले कसरी आत्महत्या गरेको थियो त्यो उपाय पछ्याएर आत्महत्या गर्ने हुनाले यो एक सरुवा प्रकृतिको समस्या भनेर व्याख्या पनि गर्ने गरेको पाइन्छ ।

 आत्महत्या तथा मानसिक समस्या सम्बन्धि प्राप्त केही अन्धविश्वासहरु -

  • अन्धविश्वास- मानसिक रोग भनेको पागलपन (जटिलखालको मानसिक समस्या) हो ।
  • सत्यता-हरेक शारीरिक रोग क्यान्सर होईनन् त्यसरीनै हरेक मानसिक रोग पागलपन होईनन्,  साधारण देखि जटिलखालका मानसिक समस्या हुन्छन् ।
  • अन्धविश्वास- साँच्चै आत्महत्या गर्ने व्यक्तिले त्यसको बारेमा कुरा कसैसंग गर्दैनन्  ।
  • सत्यता- आत्महत्याको हरेक प्रयास अगाडी कुनै न कुनै रुपमा केही संकेत व्यक्त गर्दछन् ।
  • अन्धविश्वास- ढृढ संकल्प गरिसकेको मान्छेलाई आत्महत्याबाट कसैले रोक्न सक्दैन ।
  • सत्यता- उचित ध्यान पुर्याएर उपचार गरेमा अधिकांश आत्महत्या रोक्न सकिन्छ ।
  • अन्धविश्वास- आत्महत्या सम्बन्धि कुराकानी सोधपुछ गर्दा आत्महत्या गर्ने सोँचमा बृद्दि हुन्छ ।
  • सत्यता- कुराकानी, सोधपुछ र उचित मनोबिमर्शले  आत्महत्या हुनबाट बचाउँन सकिन्छ ।
  • जोखिमका संकेतहरु-

आत्महत्या गर्ने मनसाय बोकेको व्यक्तिले आत्महत्या बारे कुराकानी गर्ने गर्छन् । कुनै न कुनै ढंगले आँफु मर्दैछु भन्ने पुर्व संकेत व्यक्त गरिरहेका हुन्छन् । यो एउटा जोखिमको पुर्व संकेत त हो नै तर उँहालाई बचाउन सकिने गतिलो अबसर पनि हो । कतिपय आत्महत्याका घटनामा प्रहरी पुगेपछि घरपरिवारको सदस्यले भन्ने गर्नुहुन्छ कि उसले यसरी मर्ने प्रयास त पहिला पनि पटक पटक गरेको हो भनेर ।

आत्महत्या गर्ने व्यक्तिले के के जोखिमका पुर्व संकेत देखाँउछन् त त्यो बारे चर्चा गरौं । आत्महत्या गर्ने सोँच बनाएको व्यक्तिले मर्ने ईच्छा व्यक्त गर्नु, मृत्युबारे योजना बनाउनु (बिष किनेर राख्नु, डोरी किनेर राख्नु, धारिलो हतियार सिरानि मुनी राख्नु वा अन्य यस्तै तयारी गर्दै बस्नु), सँधै मृत्यूबारे सोँचिरहनु, मर्ने उपायबारे जानकारी खोज्नु, जोखिम उठाउनु, आँफु बेकार असहाय वा निराश भएको कुरा व्यक्त गर्नु, आफ्ना साथीभाई संग नबुझिंदो बिदाई लिनु वा माफि माग्नु, म नजन्मेको भए राम्रो हुन्थ्यो,म मरेपछि तिमीहरु पछुताउंछौ, अब कुनै उपायनै छैन जस्ता भाव ब्यक्त गर्नु, पहिलेका रुचिहरुमा चाख हराउनु, आफ्ना कामकाज, हिसाबकिताब, प्रिय बस्तुहरु बिस्तारमा फर्स्योट गर्नु । आत्महत्याको प्रयास गर्नु ।

तपाईको घर तथा समाजका कोहि कसैबाट यस्ता गतिबिधि देखे सुनेमा स्वास्थ्यकर्मीको तुरुन्त सल्लाह लिनुहोला । कहिले काँही ठट्टै ठट्टामा पनि म अब चाँडै मर्छु मेरो मलामी आउनु है भनेको हुन सक्छ, अब मेरो खानपिन रमाईलो यति नै हो, अब त तिम्रो मेरो फेरी भेट हुन्न होला भनेर मृत्युबारे पहिलै संकेत गरिरहेकै हुन्छ । योजनाबद्द रुपमा आत्महत्या गर्ने व्यक्तिहरु यसरी अभिव्यक्ति दिईराखेको हुन्छ यो आत्मत्याको पुर्व संकेत हो तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ, हामीले बेवास्ता गरेको खण्डमा  दुर्घटना निम्तिन सक्छ । पछि पछुताउनु सिवाय कुनै विकल्प रहने छैन ।

  • आत्महत्यामा उच्च जोखिममा रहेका समुह (S.A.D.P.E.R.S.O.N.S.) :-

S: Sex Male (महिलाले Attempt बढी गर्छन्, मृत्यू हुने पुरुष बढी छन् । किनकि पुरुषले जति Attempt गर्छन् कडा खालको तरीका अपनाउँछन्।)              

A: Age (१५ बर्षदेकी ४५ बर्ष सम्म उमेर समुहका बढी जोखिममा हुन्छन् ।)

D: Depression (डिप्रेसनमा भएकाहरु बढी जोखिममा हुन्छन् ।)

P: Previous suicidal attempt (पहिले प्रयास गरेकाहरु बढी जोखिममा हुन्छन् ।)

E: Excessive ethanol/drug use (लागु औषध तथा नशाको प्रयोगकर्ता ।)

R: Rational thinking loss (गतिशिल सोँचमा ह्रास, अत्यन्त निराश, म बाँचेर काम छैन भन्ने सोँच )

S: Single, widowed or divorced (एकल, बिधुवा, सम्बन्ध बिच्छेद गरेका व्यक्तिहरु अन्यको तुलनामा बढि जोखिममा हुन्छन् ।)

O: Organized or serious attempt (योजनाबद्द, गम्भिर उद्योग/कोसिस गर्ने व्यक्ति बढि जोखिममा हुन्छन् ।)

N: No social support (सामाजिक रुपमा सहयोग नपाउनेहरु, बहिस्कारमा परेका, अपहेलित व्यक्ति उच्च जोखिममा हुन्छन् ।)

S: Sickness, (दिर्घरोगी, तनावग्रस्त जिवनशैलीले मान्छेलाई आत्महत्या तर्फ डोर्याईरहेको हुन्छ ।)

  • आत्महत्या प्रयास गरेकालाई के गर्ने ? के नगर्ने ?

लाज, डर, संकोच र आबेग मानेर वा हल्का ठानेर हेल्चेक्र्याँई गर्दा बचाउन सकिने मानव जिवन पनि गुम्न सक्छ । यदि कोहि कसैले हामीले माथि उल्लेख गरे अनुसार मृत्युका पुर्व संकेत देखाईरहेको छ भने वा आत्महत्याको योजना बनाएको, कोसिस गरिसकेको अबस्था रहेछ भने तत्काल मानसिक उपचार बिशेषज्ञको परामर्श लिनु पर्छ । मानसिक रोग भए नभएको, आत्महत्याको भविष्यामा पुनः खतरा भए नभएको निर्धारण गरी सकेसम्म मानसिक रोगको सेवा पाईने अस्पतालमा भर्ना गरी उपचार गराउन पर्छ । फेरी प्रयास गर्दा झन खतरानाक उपाय अपनाउने हुँदा अत्यन्त साबधानि पुर्बक बिरामीलाई चौबिसै घण्टा निगरानीमा राख्नु पर्छ । आत्महत्या गर्न सक्ने साधन स्रोत जस्तै खतरानाक हातहतियार, चक्कु ब्लेड, डोरी, बिषादि, औषधि उसको पहुँचबाट टाढा राख्नु पर्छ ।

दम्पति,परिवार, आफन्त तथा अरु जो कोहिले पनि संबेदनशिलता पुर्बक ममतापुर्ण  व्यबहार र मद्दत गर्नु पर्छ । गालिग्लौज, लज्जित, अपमानित, घृणित, हेप्ने झपार्ने वा सजाय दिएर सो व्यक्तिलाई थप पिडा दिएमा स्थिति झन खराब हुने गर्दछ । सुरक्षित एवंम् आत्मिय वातावरणमा उसलाई आफ्नो मनको भाव र उसले झेलेका समस्याहरु व्यक्त गर्ने अबसर दिनुपर्छ । मनोरोगबाट ग्रसित व्यक्तिले  पनि दैनिक कामकाज गरिराखेको हुन सक्छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

सकरात्मक सोँचले मात्र मानोरोग सन्चो हुँदैन, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले अरु व्यक्ति भन्दा चाँडो मर्ने सम्भावना हुने हुँदा तुरुन्त  Counseling, Psychotherapy  मार्फत उपचार गर्ने र औषधी पनि सेवन गर्नु पर्ने हुन सक्छ ।

यी उपचार बिधी सँगै ECT (Electroconvulsive Therapy), RTMS (Repetitive transcranial magnetic stimulation)  जस्ता प्रबिधिको समेत प्रयोग गरेर मानसिक रोगको उपचार गर्ने गरिन्छ ।

  • आत्महत्याको कारण आफन्त गुमाएकालाई के गर्ने के नगर्ने ?

आफन्तजनले आत्महत्या गर्ला भनेर कमैले सोचेका हुन्छन् । अतः यस्तो घटनाले उनिहरुलाई गहिरो आघात पुर्याउँदछ । घटनाको प्रत्यक्षदर्सी र अप्रत्यक्ष रुपमा जानकारी पाउनेहरुलाई पनि लामो समय सम्म बारम्बार मृतकको झझल्लो आउने, दुस्वप्न देख्ने, उदासिन हुने जस्ता रोगहरु आउन सक्छन् । प्राकृतिक मृत्यूको तुलनामा यसमा उनिहरु निकै मानसिक यातना, पिडा, हिन्ताबोध, आत्मग्लानि, बेईज्जति, अबिश्वास, अन्यौल, शोक, डर, चिन्ता भावनामा उथलपुथल हुने गरी महसुस गर्दछन् । उसले आँफुलाई किन विश्वास नगरेको ? किन आत्मिय नसम्झेको? हामीमा के कमी थियो? आत्महत्यानै गर्नुपर्ने कारण के थियो? आँफुले के गल्ति गरें जस्ता आदि प्रश्नहरुले उनिहरुलाई कालान्तर सम्म पिडा दिईरहन्छ । त्यसकारण उनीहरु पनि आत्महत्या गर्ने जोखिममा रहेका हुन्छन् त्यसैले उनिहरुलाई पनि उचित परामर्श तथा उपचारको खाँचो हुन्छ । सुरक्षित एवंम आत्मिय वातावरणमा उनीहरुलाई पनि आफ्नो मनको बह पोख्न र प्रयाप्त रुन दिनुपर्छ । आत्महत्या बारे सत्यतथ्य सुचनाहरु उपलब्ध गराउन र अन्य मानिसका प्रतिक्रिया बुझ्न, सामना गर्न आत्मविश्वास बढाउन मद्दत गर्नुपर्छ । उसले आत्महत्या गर्नुमा तपाईँको कुनै दोष छैन भनेर उसलाई विश्वास दिलाउनुपर्छ ।

  • आत्महत्याको रोकथाम

आत्महत्या हुन/गर्नबाट बचाउन सकिन्छ, यो सम्भव पनि छ । मानसिक स्वास्थ्य सम्बन्धि चेतना स्तर भने हाम्रो समाजमा निकै कमजोर छ जो दुखद् हो । समयमै उचित सजगता एवंम् उपचार बिधि अपनाएमा प्राय आत्महत्याका घटनालाई रोक्न सकिन्छ । अधिकांश ९५% आत्महत्या मानसिक रोगका प्रतिफल हुने हुँदा सर्बप्रथम मानसिक स्वास्थ्य प्रबर्धन गर्नुपर्छ । जोखिमका संकेत देख्ना साथ उपचारका उचित उपाय अबलम्बन गर्नुनै आत्महत्याको रोकथामको प्रमुख कडि हो ।

आत्महत्याको सोँच राखेका व्यक्तिलाई नआत्तिन, नहडबडाउन अनुरोध गर्ने । जीवनको कठिन मोडमा धेरै मान्छेमा आत्महत्याको सोँच आउँछ तर समस्या समाधानका उपायहरु/विकल्पहरु हामी संग प्रसस्त छन र बाँचेका उदाहरण पनि छन् । आफ्ना नजिकका मान्छे संग आफ्ना समस्याबारे बताउनुहोस् हामी पनि तपाईँको साथमा छौं, बाँचे पछि धेरै देख्न, भोग्न र गर्न सकिन्छ । मानव जीवन अमुल्य छ मरेपछि फेरी जन्म सम्भव छैन, त्यसैले जति सक्यो जिवनलाई धेरै भन्दा धेरै समयसम्म बचाँउनु पर्छ हाम्रो यसैमा कल्याण छ  भनेर आस्वस्त पार्नुपर्छ । आत्महत्या गरेपछि त अपराध गरे जस्तै हो हामीलाई स्वर्गमा समेत बास पाईन्न भनेर विश्वास दिलाउनु पर्छ । “एकपल दिऔं ज्यान बचाऔं,  विकल्प रोजौं मृत्यू होईन” भन्ने नारालाई आत्मसाथ गर्दै पिडितका कुरा मजाले सुन्नुहोस् उसको परिवार संग छलफल चलाउनुहोस्, तत्कालै स्वास्थ्यकर्मी तथा मनोविमर्शकर्तासंग सल्लाह लिनुहोस् ।

भित्रि रुपमा शान्त, बाहिरी रुपमा सम्पन्न र समग्र रुपमा सन्तुष्ट जीवननै हाम्रो जीवनको उद्देश्य हुनु पर्छ ।

 

“एकपल दिऔं ज्यान बचाऔं, मृत्यू होइन विकल्प खोजौं”

लेखक-  लक्ष्मण ओली  मनोबिमर्ष सम्बन्धि तालिम प्राप्त प्रहरी अधिकारी हुन् ।

 (  सल्लाह सुझाबको लागि:- Olilaxma77@gmail.com, 9851281453)

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top