ट्रेण्डिङ

होमपेज / बिचार / सम्बाद

जलीय पारिस्थितिक प्रणालीको संरक्षणमा जोड देऊ

  सल्यान खबर डेस्क २०७७ कार्तिक १९ गते बुधबार १६:०४:३४ मा प्रकाशित

भौगोलिक हिसाबमा सानो मुलुक नेपालले विश्व र एसिया को क्रमशः ०.०३ र ०.३ प्रतिशत भूभाग ओगट्छ । यद्यपि नेपाल प्राकृतिक सम्पदा र  जैविक विविधतामा धनी मानिन्छ । जैविक विविधता को हिसाब मा विश्वकै २५ औंं र एसिया को ११ औँ स्थान मा पर्दछ ।  त्यस्तै, ब्राजिल पछिको जलस्रोते मा दोस्रो धनी देश मानिन्छ । नेपालमा करिब ६००० भन्दा धेरै खोलानाला तथा नदीहरू, र करिब ५००० भन्दा धेरै ताल तलैयाहरु अभिलेख छन्। महाकाली, कर्णाली, गण्डकी, र कोसी ठुला प्रमुख नदीहरू हुन् । माथि उल्लेखित पानीका स्रोतहरू पृथ्वी मा भएको स्वच्छ जलीय पारिस्थितिक प्रणालीका अंश हुन्, जसलाइ पृथ्वी को जीवित सं बाहिनी प्रणाली पनि भनिन्छ । 

रारा तालमा पाइने असला माछा ÷तस्बिर: जीवन शर्मा

स्वच्छ जलीय पारिस्थितिक प्रणाली जैविक विविधता को लागि त महत्त्वपूर्ण छँदै छ, यसबाहेक यसले महत्त्वपूर्ण पारिस्थितिक सेवाहरू (सामाजिक, पर्यावरणीय, र आर्थिक ) उपलब्ध गराइरहेको छ । दुर्लभ जीवजन्तु र विभिन्न प्रजातिका बनस्पतिहरुलाई वासस्थान प्रदान गरिरहेको हुन्छ ।  घरायसी प्रयोजन, सिँचाई, पर्या पर्यटन, मत्स्यपालन , कृषि उत्पादकत्व अभिवृिद्ध, बिजुली उत्पादन र औद्योगिक विकासको लागि आवश्यक पर्ने पानी प्रदान गरिरहेको हुन्छ । चरा अवलोकनको लागि महत्त्वपूर्ण पर्यटकीय हब बनिरहेका हुन्छन् (उदाहरणको निम्ति जगदीशपुर ताल लाई लिन सकिन्छ जुन जलपंन्छी पर्यटन को लागि नेपाल को महत्त्वपूर्ण ठाउँ मानिन्छ) । मनोरञ्जन गतिविधिहरू (जस्तै बोटिङ्ग, र्याफ्टिंग) लाई बढवा गरी पर्या पर्यटन को हब बनाइ आर्थिक लाभ लिन सकिन्छ ।विशेष गरी ताल तलैया हरूले बायुमंण्डल मा रहेको कार्बनडाइ अक्साइडजस्ता ग्यास हरू लाई सोसेर जलवायु परिवर्तन का असरलाई न्यूनीकरण गर्न मद्दत पुर्‍याउनुका साथै भू–विनाश का असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवच को रुपमा काम गरिरहेको हुन्छन् । अन्य पारिस्थितिक सेवाहरू जस्तै बाढी नियन्त्रण, पानी शुद्धीकरण, तट रेखा स्थिर करण जस्ता सेवाहरू प्रदान गर्दछन् । भूमिगत पानी रिचार्ज गरेर पानीका मुहानलाई जीवन्त राख्न मद्दत गर्दछन् । नदी किनारमा बस्ने नागरिक को जीविकोपार्जन मा सहयोग गरिरहेको हुन्छन् । गरिबी निवारण, रोजगारी र धनको सिर्जनाका लागि महत्त्वपूर्ण हुन्छन् । त्यसैले स्वच्छ जलीय पारिस्थितिक प्रणाली को संरक्षण र दिगो उपयोग गर्दै हरित अर्थतन्त्र मा टेवा पुर्‍याउन सकिन्छ। 

स्वच्छ जलीय पारिस्थितिक प्रणालीले पृथ्वीको कुल भूभागको करिब १ प्रतिशत भन्दा कम छेत्रफल ओगटे पनि प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय सङ्घ आयूसियन को तथ्याङ्क अनुसार करिब १ लाख चालीस हजार प्रजाति का जीवजन्तु हरू लाई वासस्थान प्रदान गर्दछ । त्यो भनेको अहिलेसम्म विश्वभर अभिलेख गरिएका कुल जीवजन्तुको करिब १० प्रतिशत हुन आउँछ (लिभिंग प्लानेट इन्डेक्स, २०१८ सन) । प्रति एकाइ छेत्र फल लाई आधार मान्ने हो भने सामुन्द्रिक तथा स्थलमय पारिस्थितिक प्रणाली भन्दा स्वच्छ जलीय पारिस्थितिक प्रणाली जैविक विविधता मा धनी मानिन्छ ।  

यद्यपि, स्वच्छ जलीय पारिस्थितिक प्रणाली ले मानवीय क्रियाकलाप को ठुलो दबाब को सामना गरिरहेको छ । जल प्रदूषण, वासस्थान को क्षयीकरण तथा विखण्डन , अत्यधिक फिशिंग, जलवायु परिवर्तन, बाह्य मिचाहा प्रजातिको आगमन जस्ता कारक तत्त्वहरूले जलीय जैविक विविधतालाई चुनौती दिरहेका छन् । जसको कारण करिब एक तिहाइ स्वच्छ जलीय जैविक विविधता लोप हुने खतरा छ । मानवीय क्रियाकलाप हरू बढ्दै जाँदा जलीय जैविक विविधता को संरक्षणमा अझ बढी चुनौती थपिने आङ्कलन गरिएको छ ।

जोखिम मा सल्यान को कुपिन्डेताल ÷ तस्बिर :जीवन शर्मा 

सायदै नेपाल मा कुनै त्यस्तो खोला वा नदी छैन होला जहाँ खोला वा नदी  किनारा बाट सडक नखनिएको होस् । वातावरणीय प्रभाव मूल्याङ्कन बिना जथाभाबी नदी, खोला किनार वा जलाधार छेत्र भित्र खनिएका सडक सञ्जाल हुन् वा अनियन्त्रित, अव्यवस्थित खोला वा नदी बाट जथाभाबी ढुङ्गा गिटी बालुवा उत्खनन कार्य ले नेपाल को जलीय जैविक विविधता मा गम्भीर असर पारिरहेको छ । यी बाहेक जलविद्युत को लागि बाध निर्माण, अत्यधिक फिशिंग, कृषिजन्य विषादी को अत्यधिक प्रयोग, फोहोर मैला विसर्जन जस्ता मानवीय क्रियाकलाप ले जलीय जैविक विविधता थप सङ्कटमा पारेको छ ।मानवीय क्रियाकलाप बाटै सिर्जित अर्को समस्या जलवायु परिवर्तन पनि कारक तत्त्व बनेको छ । 

सन् २०१८ मा प्रकाशित लिभिंग प्लानेट इन्डेक्स प्रतिवेदन अनुसार सन् १९७० देखि सन् २०१४ सम्म आइपुग्दा स्वच्छ जलीय पारिस्थितिक प्रणाली मा वासस्थान भएका करिब ८३ प्रतिशत माछाका प्रजाति को सङ्ख्या मा नाटकीय रुपमा गिरावट आएको छ । त्यसको मतलब करिब ४ प्रतिशत का दरले प्रत्येक वर्ष स्वच्छ जलीय पारिस्थितिक प्रणाली मा वासस्थान भएका माछा का प्रजातिहरू लोप भएका छन् । आइयुसिएन , डब्ल्यु डब्ल्यु एफ , जेट एस एल, द नेचर कन्जरभेंसी र वर्ल्ड फिस माइग्रेसन फाउन्डेसन ले संयुक्त रुपमा अध्ययन गरी हालसालै प्रकाशित गरेको प्रतिवेदन  ‘द लिभिंग प्लानेट इन्डेक्स फर माइग्रेटरी फ्रेशवाटर फिस २०२०’ का अनुसार विश्वभर माइग्रेटरी माछाहरू औसत मा ७६ प्रतिशत का दरले घटिरहेको डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेका छन् ।

जलचर संरक्षण ऐन, २०१७ मा कुनै पनि व्यक्ति ले जानाजान विधुत प्रवाह गरी वा विस्फोटक पदार्थ वा विषाक्त पदार्थ (प्राविधिक अधिकारीले तोकेको सुरक्षित विष वा जडीबुटी बाहेक)  प्रयोग गरी कुनै पनि जलीय जनावर समात्न वा मार्न नपाइने व्यवस्था  छ । यद्यपि कुनै व्यक्ति को निजी फार्म मा निज व्यक्तिले विषाक्त पदार्थ को प्रयोग बाहेक का अन्य तरिका अपनाइ समात्न वा मार्न सकिने व्यवस्था छ । नेपाल सरकार वा स्थानीय निकाय वा प्राधिकरण को इजाजत बिना जानाजान जलीय जनावर हुलाई समात्न, घाइते बनाउन वा मार्न नपाइने व्यवस्था गरिएको छ् ।कुनै व्यक्ति ले यस ऐन को उलङ्घन गरेको खण्डमा सम्बन्धित स्थानीय निकाय वा प्राधिकरण ले अधिकतम ५,००० सम्म जरिवाना तिराउन सक्ने व्यवस्था गरिएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले निकुञ्ज वा आरक्ष भित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानिकारक वा विस्फोट पदार्थहरू प्रयोग गर्न निषेध गरेको छ (दफा ५, उपदफा १)। यद्यपि वन्यजन्तु लाई प्रतिकुल असर नपर्ने गरी निकुञ्ज वा आरक्ष को प्रकृति अनुसार तोकिए बमोजिम का निकुञ्ज वा आरक्षमा परम्परागत रुपमा उपभोग गर्दै आएका स्थानीय जनता लाई खानेपानी, सिँचाई तथा तटबन्ध को प्रयोग गर्न,  र माछा मार्न दिइने व्यवस्था गरिएको छ (दफा ५, उपदफा २ )। त्यस्तै निकुञ्ज वा आरक्ष भित्र को जलीय पारिस्थितिक प्रणाली बाट वैज्ञानिक अनुसन्धान को निम्ति सम्बन्धित किनाएको इजाजत पत्र लिएर मात्रै  नमुना सङ्कलन गर्ने व्यवस्था गरिएको छ (दफा १५ )।स्वच्छ जलीय पारिस्थितिक प्रणाली भित्रै पर्ने सिमसार छेत्र को संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमत्ता पुर्न उपयोग गर्ने लक्ष अनुरूप नेपाल मा हाल सम्म १० वटा सिमसार छेत्र हरू अन्तर्राष्ट्रिय महत्त्व को राम सार सूचिमा सूचीकृत गरिएको छ । जसबाट जलीय जैविक विविधता को संरक्षण सँगै त्यसको दिगो उपयोग गर्न सकिन्छ ।

नेपाल सरकार ले जलचर संरक्षण ऐन २०१७ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी रारा ताल मा मात्र पाइने तिन प्रजाति का असल माछा हरू (सिजोथोराक्स मक्रोफ्थालामस, सिजोथोराक्स नेपालेनसिस र  सिजोथोराक्स रारेन्सीस) लगायत १२ प्रजाति का कछुवा, घरियाल, मगर गोही, डल्फिन, र ओत का प्रजाति लाई समात्न, मार्न तथा चोट पुर्‍याउन पूर्ण मनाही गरिएको छ । त्यस्तै अन्य छ प्रजाति का असल माछा लाई सरकारले शरद ऋतुको कात्तिक, हेमन्त ऋतुको मङ्सिर, शिशिर ऋतुको फाल्गुन र वसन्त ऋतुको चैत महिना मा समात्न, मार्न तथा चोट पुर्‍याउन बन्देज गरेको छ भने दुई प्रजाति का सहर माछा ( टोर पुटिटोरा र टोर टोर ) र कत्ले माछा (नियोलिसोकाइलस हेग्जागोनोलेपिस ) लाई चैत, वैशाख, भदौ र असोज महिना मा समात्न, मार्न तथा चोट पुर्‍याउन प्रतिबन्ध गरिएको छ् । माथि उल्लेखित महिना भन्दा बाहेक का महिना को हक मा तोकिएको लम्बाइ भन्दा ( असल प्रजातिलाई १५ से.मि., सहर प्रजातिको लागि ३० से.मि. , र कत्ले माछाको लागि २० से.मि.)  सानो आकार को माछा मार्न, समाउन वा चोट पुर्‍याउन मनाही गरिएको छ । त्यसै गरी अन्य ७८ प्रजातिका माछा हरूको लागि तोकिएको लम्बाई अनुसार बाहेक सानो माछा हरू समात्न मार्न वा चोट पुर्‍याउन बन्देज छ ।  ऐन को दफा ५ को अधिकार प्रयोग गरी निम्न लिखित स्थान हरू मा कुनै परि प्रकार को जलचर लाई समात्न, मार्न तथा चोट पुर्‍याउन मनाही गरेको छ ।

क. सप्तकोसी नदीको कोसी ब्यारेज र सप्तगण्डकी नदीको गण्डक ब्यारेज को १ किलोमिटर तल र माथि दुवै तर्फ को जलमा,

ख. सार्वजनिक तालमा खोला मिसिने स्थान बाट एक सय मिटर तल र २ सय मिटर माथि सम्मको जलमा, 

ग. फेवातालको वाराही मन्दिर देखि रत्न मन्दिर दरबारसम्म को जलमा,

घ. जलस्रोत विकास सम्बन्धी आयोजना सञ्चालनका लागि स्थायी प्रकृतिको बाध बाँधिएकोमा  त्यस्ता बाध रहेको स्थान को एक सय मिटर तल र माथि दुवै तर्फ को जलमा,

ङ. कुनै पनि नदी वा खोलाको पानीलाई पुरै मात्रा मा अर्कोतर्फ लगेको  (दुवाली छेकेको ) स्थानमा 

तर अनुसन्धान प्रयोजन को लागि नेपाल सरकार वा स्थानीय अधिकारी को अनुमति लिएर उल्लेखित आकार भन्दा सानो माछा मार्न वा समाउन सकिने व्यवस्था रहेको छ ।

कर्णाली नदी, कालिकोट ÷तस्बिर : जीवन शर्मा

जलीय जैविक विविधता मा देखा परेका यावत समस्या को सामना गर्दै कम भन्दा कम पर्यावरण बिग्रिने गरी वावावरणिय प्रभाव मूल्याङ्कन गरेर मात्रै भौतिक पूर्वाधार लगायत सडक सञ्जाल निर्माण गरे, ढुङ्गा गिटी बालुवा उत्खनन नियन्त्रण तथा नियमन गरेमा, जलबिद्युतको बाँध मा फिस ल्याडरनिर्माण गरी कम्तिमा  इ (फलो ( भ्लखष्चयलmभलतब िँयिध) कायम गर्न सकेमा, कृषिजन्य विषादी प्रयोग न्यूनीकरण गरेमा, नदी, खोला वा ताल तलैया लाई आधार बनाइ जलाधार छेत्र को दिगो संरक्षण गर्न सकेमा केही हद सम्म जैविक विविधता को संरक्षण गर्न सकिन्छ ।यसको लागि तिनै तह का सरकार र सरोकार वाला निकाय तथा विषय विज्ञबिच निरन्तर सहकार्य तथा समन्वय हुन  आवश्यक छ।साथै जलीय जैविक विविधता बारेमा निरन्तर अध्ययन अनुसन्धान, जलीय परिस्थिति प्रणाली को अवस्था बारे  नियमित अनुगमन तथा निरीक्षण गरी अहिले उपलब्ध कानुन लाई नै कडाइका साथ पालना गराउन सके केही हद सम्म जलीय जैविक विविधता मा देखा परिरहेका समस्या वा चुनौती हरू सँग सामना गर्न सहज हुने छ ।यस सगसगै  नै नदी, खोला तथा सिमसार छेत्र वरिपरि का समुदाय र जैविक पर्यावरण को प्रत्यक्ष लाभ लिइरहेका समुदाय लाई जलीय जैविक विविधता र त्यसको महत्त्व, संरक्षण दिगो उपयोग बारे बारे जनचेतना मूलक तथा  अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सके जलीय जैविक विविधता संरक्षणमा थप टेवा पुग्नेछ।

वातावरण संरक्षण मञ्च नेपाल संस्था सँग आबद्ध लेखक वातावरण विज्ञान केन्द्रीय विभाग चौथो सेमेस्टर का विद्यार्थी हुन । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top