होमपेज / अर्थ
तोकिएको समयावधि भन्दा झन्डै सातवर्ष ढीलो गरी मकवानपुर जिल्लाको कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।आयोजनाले अवको केही दिनमा परीक्षण उत्पादन सुरु गर्ने बताएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका सानुटारमा निर्माण गरिएको कुलेखानी तेस्रोको उत्पादन क्षमता १४ मेगावाट छ । यो संगै मकवानपुरका रहेको अर्को जलविद्युत आयोजनाले पनि परीक्षण उत्पादन गर्ने भएको छ ।
जिल्लाको बाग्मती खोला साना जलविद्युत् आयोजनाले पनि उत्पादन सुरु गर्न लागेको हो । दुवै आयोजनाले उत्पादन सुरु गरेपछि ३६ मेगावाट विद्युत् थपिनेछ । कुलेखानी जलविद्युत आयोजनाले सन् २०११ मै उत्पादन थाल्नुपर्ने भए पनि हाल निर्माण पूरा गरेर पूर्वाधारको अवस्थाबारे चेकजाँच भइरहेको आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताए ।
पूर्वाधारको चेकजाँचपछि परीक्षण उत्पादन थालिने उनले जानकारी दिए । परीक्षण उत्पादनमा सफल भएपछि व्यावसायिक उत्पादन सुरु हुने मिश्रले बताए ।
आयोजना निर्माणको सुरुवाती चरणमा चिनियाँ कम्पनी चे जियाङ जिल्लुनको बेवास्तासँगै स्थानीय बासिन्दाले पटकपटक आन्दोलन गर्दा आयोजनाको काममा अवरोध पुगेको थियो ।
आयोजनाको सुरुको लागत अढाइ अर्ब रुपैयाँ अनुमान गरिए पनि काममा भएको ढिलाइले लागत बढेको प्राधिकरणले जनाएको छ ।
ऊर्जा मन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदार कम्पनीलाई दबाब दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको थियो ।
यसअघि कुलेखानी जलाशयमा रहेको पानीबाट ६० मेगावाटको कुलेखानी प्रथम र ३२ मेगावाटको दोस्रो सञ्चालनमा छ । तेस्रोको उत्पादन क्षमता १४ मेगावाट छ ।
पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा विद्युत् उत्पादन भइरहेको छ । अब दोस्रोबाट निस्केको पानी तेस्रोमा पु¥याएर विद्युत् उत्पादन गर्न लागिएको हो ।
निर्माणको काम सकेर तयारी अवस्थामा रहेको आयोजनाले ३ चैत २०७५ बाट परीक्षण उत्पादन थाल्ने भएको छ ।
यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा निर्माण भएको बाग्मती साना जलविद्युत् आयोजनाले पनि उत्पादन थाल्ने जनाएको छ ।
निर्माणको काम सकेर तयारी अवस्थामा रहेको आयोजनाले ३ चैत २०७५ बाट परीक्षण उत्पादन थाल्ने भएको छ । अहिले आयोजनाको प्राविधिक परीक्षणको काम भइरहेको जनाइएको छ ।
चार अर्ब रुपैयाँ लागतमा निर्माण भएको आयोजनाले परीक्षण उत्पादन भएको १५ दिनमा व्यावसायिक उत्पादन थाल्ने आयोजनाका इन्जिनियर शिशिर देवकोटाले जानकारी दिए ।
निजी क्षेत्रको मान्डु हाइड्रोपावर कम्पनी र चिनियाँ कम्पनीको संयुक्त लगानीमा निर्माण भएको आयोजनामा विद्युत् उत्पादनका लागि चाहिने प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी पठाउने गरी ३ दशमलव ७ मिटर चौंडा र ३ दशमलव ८ डायोमिटर रहेको २ हजार ४ सय ४१ मिटर लामो हेडरेस्ट टनेल बनाइएको छ ।
हाइड्रोले मकवानपुरको सिस्नेरी दोभानमा संकलन गरेको पानी टनेलमार्फत इपापञ्चकन्याको बेसीबगरमा पु¥याउँदै विद्युत् उत्पादन गर्नेछ ।
२०७२ जेठबाट निर्माण थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रसारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टावर निर्माण गरेको छ । उत्पादन गरिएको विद्युत् प्रसारण लाइनमा जोड्का लागि सबै तयारी भइसकेको जनाइएको छ ।
प्राधिकरणको प्रसारण लाइनमा उत्पादन स्थलबाट १४ किलोमिटर टाढा छ । ‘रन अफ रिभर’ प्रणालीको आयोजनामा ५५ मिटर लामो ड्याम निर्माण गरिएको छ ।
बाग्मतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाई कुलेखानी, बाग्मती र कोगटेको पानी छेकेर सुरुङमार्फत इपाको बगरबेसीमा विद्युत् उत्पादन गर्न लागिएको भीमफेदी गाँउपालिका उप्रमुख पार्वती रानाले बताइन् ।
हाइड्रोमा चाइनाको से च्वाङ हे च्वाङ, नेपालको हिमालयन इन्फ्रास्ट्रक्चर फन्डले लगानी गरेको छ भने मकवानपुरको माण्डु हाइड्रोपावर कम्पनीले प्रवद्र्धकको काम गरिरहेको छ ।
हाइड्रोको इलेक्ट्रोमेकानिकलको काम चाइनिज कम्पनी सीडब्लुटीडब्लुले गरेको हो । कम्पनीमा नेपालीको ५१ र चिनियाँको ४९ प्रतिशत सेयर छ ।
मान्डु हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता भएको जनाएको छ ।
नेपाललाई लोडसेडिङ मुक्त बनाउँदै चीन र भारतमा विद्युत् विक्रि गर्ने उद्देश्य लिएको सरकारले देशका सानातिना नदिहरुको पानीलाई संकलन गरेर विद्युत् उत्पादन गर्न सकेमा लक्ष्यमा पुग्न सकिने रानाले बताइन् ।
मकवानपुर जिल्लाकै विभिन्न स्थानहरुमा अझै विजुलीको उज्यालो पुग्न सकेको छैन । सानातिना योजनाहरुलाई पनि प्रभावकारी बनाउन सकेको अवस्थामा कुनाकाप्चासम्म उज्यालो पु¥याउन सकिने मकवानपुरगढी गाँउपालिकाका–८ का वडा अध्यक्ष कुमार सिं घिसिड्ड बताउछन् ।





.jpg)