होमपेज / अर्थ
साउन १७,सल्यान
सल्यानका किसानले टमाटरको मूल्य अहिलेसम्मकै उच्च पाएका छन् । किसानले मङ्गलवार प्रतिकिलो १४० रुपैयाँसम्ममा टमाटर बिक्री गरेका छन् । यसअघि प्रतिकिलो ९० रुपैयाँसम्म बिक्री गरेका किसानले मङ्गलवार भने १४० रुपैयाँसम्म बिक्री गरेका छन् । किसानले टमाटर बिक्री गरेर पाएको मूल्य यो अहिलेसम्मकै उच्च हो ।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार कपुरकोट हाटबजारबाट मङ्गलवार मात्रै ६८ हजार २ सय ८९ किलो कृषिजन्य वस्तु बिक्रीबाट ६० लाख ४८ हजार ९ सय ४८ रुपैयाँ बराबरको ताजा तरकारी र फलफूल निकासी भएको छ । यसमध्ये ४३ लाख बढी रकम टमाटर बिक्रीबाट मात्रै आम्दानी भएको छ ।
३१ हजार ३ सय किलो टमाटर बिक्रीबाट ४३ लाख ३ हजार ७५० रुपैयाँ, ४ हजार ५ सय ६५ किलो काउली बिक्रीबाट १ लाख ९४ हजार १२ रुपैयाँ, ३ हजार ८ सय ९५ किलो भेडे खुर्सानी बिक्रीबाट ३ लाख १ हजार ८ सय ६५ रुपैयाँ र ११ हजार ७ सय किलो बन्दा गोभी बिक्रीबाट २ लाख ४ हजार ७ सय ५० रुपैयाँ जिल्ला भित्रिएको कृषि उपज सेवा केन्द्र कपुरकोटका सचिव सन्तोष सिंह घर्तीले जानकारी दिनु भयो ।
यस्तै किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दा गोभी १० देखि १५ रुपैयाँ प्रतिकिलो बिक्री उहाँको भनाई छ । यस्तै सिमी ४५ देखि ५० रुपैयाँ प्रतिकिलो बिक्री गरेका किसानले लोकल काँक्रा ५० देखि ५५ र उन्नत काँक्रा १० देखि १२ रुपैयाँ प्रतिकिलो बिक्री गरेका हुन् ।
कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती हुँदै आएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगायतका सहर बजारमा जाने गरेको छ । तर यस पटक भारतसम्म निर्यात भएको छ ।
कपुरकोटमा हप्ताको मङ्गलवार र शुक्रवार तरकारी बजार लाग्ने गर्दछ भने अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका छ वटै वडामा रहेका तरकारी सङ्कलन केन्द्रमा पनि किसानहरूले आफ्नो उत्पादन बिक्री गर्ने गर्दछन् ।





.jpg)