होमपेज / अर्थ
सल्यान — वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएको कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुरमा गत वर्ष लिप्ट खानेपानी योजना सुरु गरियो । तर, बजेट अभावका कारण यस वर्ष खानेपानी योजनाको काम अलपत्र परेको छ ।
लक्ष्मीपुरको चोत्रे र हिंगबरेका बासिन्दाको सहजताका लागि योजनाको काम सुरु गरिएको हो । गत वर्ष संघीय सरकारले १९ लाख रुपैयाँ विनियोजन गरेको थियो । डेढ लाख रुपैयाँमा शारदा खोला नजिकैको बैसरी मुहानबाट पानी लैजानेगरी इन्टेक ट्यांकी निर्माण गरे पनि अरु काम अघि बढ्न सकेको छैन । खानेपानी सरसफाइ तथा सिँचाइ डिभिजन कार्यालयले बाँकी रकमको जीआई पाइप खरिद गरेको छ । थप बजेट नभएपछि योजनाको काम अघि बढ्न नसकेको कार्यालयले जनाएको छ ।
खानेपानी योजनाको काम हुन थालेको भन्दै खुसी भएका स्थानीयवासी अहिले निरास छन् । बजेट अभावमा उपभोक्ता समितिसमेत निष्क्रिय बनेको छ । दुई गाउँका करिब ५० घरधुरीमा लामो समयदेखि खानेपानी समस्या छ । स्थानीय कमला ओलीले योजना अलपत्र पर्दा दुई घण्टा हिँडेर बैसरीखोला मुहानबाट पानी लिनुपर्ने बाध्यता रहेको बताइन् ।
राजनीतिक पहुँच नहुँदा यस वर्ष योजनामा बजेट नपरेको स्थानीय नरबहादुर ओलीले बताए । उनका अनुसार योजनाको काममा डिभिजन कार्यालयले पनि लापरबाही गरिरहेको छ । ‘इन्टेकको काम सकिएपछि खरिद भएको पाइप गाउँमा पठाएको भए श्रमदान गरेर पनि योजना सम्पन्न हुने थियो,’ उनले भने, ‘तर लामो समयदेखि कार्यालयमै पाइप थन्क्याइएको छ ।’
उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष केशर खत्रीले इन्टेकबाहेक अन्य निर्माणको काम हुन नसकेको गुनासो गरे । वार्षिक कम्तिमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरे पाँच वर्षमा योजनाको काम सकिने उनको भनाइ छ । उनका अनुसार योजनामा २ करोड २९ लाख रुपैयाँ लागत अनुमानको डीपीआर गरिएको छ । बैसरी मुहानबाट ७ सय ९० मिटर लामो पाइपलाइन खडा गरी योजना बनाउने गरी डीपीआरमा उल्लेख छ । डिभिजनका अनुसार गत वर्षको बजेटबाट बैसरी–चोत्रे खानेपानी योजनामा गत वर्ष ९ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । डेढ लाखको इन्टेक र ७ लाख रुपैयाँको पाइप खरिद गरिएको कार्यालयले जनाएको छ । कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले पटकपटक सरकारको ध्यानाकर्षण गराइए पनि बेवास्ता हुँदा स्थानीयले सास्ती भोगिरहेको बताए । ‘स्थानीय सरकारको न्यून बजेटले योजना पूरा हुने सम्भावना छैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले बजेट विनियोजनामा कञ्जुस्याइ गरिरहेका छन् ।’
डिभिजन कार्यालय प्रमुख प्रेमप्रसाद ओलीले गत वर्ष प्राथमिकतामै राखेर बजेट विनियोजन गर्न संघीय सरकारसँग अनुरोध गरिएको बताए । उनका अनुसार यस वर्ष जिल्लाभरिका योजनाका लागि ५ करोड बजेट विनियोजन गरिएको छ । ‘जिल्लाभरिको खानेपानी समस्या समाधान गर्न वार्षिक एक अर्ब रुपैयाँ आवश्यक पर्छ,’ उनले भने, ‘बजेट अभावमा सबै क्रमागत खानेपानी योजना अलपत्र छन् ।’ गत वर्ष सञ्चालन भएका पाँच स्किमका २१ योजना न्यून बजेटकै कारण प्रभावित बनेको उनको गुनासो छ ।





.jpg)