होमपेज / अर्थ
काठमाडौँ — धितोपत्र बजारमा सेयर कारोबार नेप्से परिसूचकले यो साता नयाँ इतिहास कायम गरेको छ । सेयर साताको चार दिन बजार उच्च अंकले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अंकले बढ्यो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८० कम्पनीका चार करोड ४९ लाख ४४ हजार ११३ कित्ता सेयर १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४०७ रुपैयाँमा खरिद बिक्री भए। साताको पहिलो दिन नेप्सेमा उच्च अंकको वृद्धि देखियो। आइतबार नेप्से झन्डै७० अंकले बढ्यो। ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो।
लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुपर्यो। लगानीकर्ता ओइरिएर सेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गयो। सोही कारण कारोबार सुरु भएको दोस्रो घन्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो। सो दिन कूल १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए।
साताको दोस्रो दिन नेप्सेमा सामान्य गिरावट आयो। सोमबार नेप्से १.९६ ले घट्यो। नेप्से झिनो अंकले घटे पनि कारोबार रकम भने तीन अर्ब माथि रह्यो। सो दिन कूल १७९ कम्पनीका कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोबार भयो।
सोमबार केही गतिरोध आएको बजारमा मंगलबार भने भारी सुधार देखिँदै नेप्से ४३.०२ ले बढ्यो। नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममासमेत वृद्धि भयो। कूल १८० कम्पनीका ७० लाख ५९ हजार ७१२ कित्ता सेयर दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको सेयर खरिदबिक्री भए।
धितोपत्र बजारमा नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बुधबार पनि जारी रह्यो। त्यस दिन नेप्से परिसूचक ५०.९३ अंक बढ्यो। बुधबार कूल १८० कम्पनीका ९९ लाख छ हजार ९८९ किता सेयर चार अर्ब १५ करोड ४८ लाख ८३ हजारमा कारोबार भए।
साताको अन्तिम दिन नेप्से ३६.०५ अंकले बढेर एक हजार ६३२.१७ मा पुगेर रोकियो। नेप्सेमा भारी वृद्धि हुँदा कारोबार रकम झन्डै साढे चार अर्ब पुग्यो। बिहीबार कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता सेयर चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भए।





.jpg)