ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानबाट ६ करोडको ताजा तरकारी निकासी

  सल्यान खबर २०७७ श्रावण ३२ गते आइतबार १८:२५:५८ मा प्रकाशित

साउन ३२, सल्यान 
सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनाको अवधिमा ६ करोडको ताजा तरकारी निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ २० देखि साउनसम्म ६ करोडको ताजा तरकारी निकासी भएको हो । 

बन्दाबन्दीका कारण सुरुमा तरकारी विक्री नहुँदा किसानमा समस्यामा परेपनि अहिले भने तरकारीले उचित मुल्य पाइरहेको कृषि उपज बजार केन्द्र सञ्चालक समितिका सचिव तिलक शर्माले बताए । 

विगतका वर्षहरुमा भन्दा यो वर्ष किसानले सोचभन्दा राम्रो मुल्य पाएको भएता पनि उत्पादन भने कम रहेको उनको भनाई छ । उनले भने लामो समयसम्मको बन्दाबन्दीका कारण किसानले समयमै तरकारी उत्पादन गर्न नसक्दा र लगातारको वर्षातका कारण तरकारीमा रोग लाग्दा उत्पादनमा भने केही कमी आएको छ । 

गत वर्ष कपुरकोटबाट मात्रै २६ करोडको तरकारी निकासी भएकोमा यो वर्ष भने १० करोडको मात्र ताजा तरकारी निकासी हुने अनुमान गरिएको शर्माको भनाई छ । कपुरकोटका अन्य २८ सहायक बजारबाट पनि तरकारी निकासी भइरहेको उनले बताए । 
बन्दाबन्दीले भारतको तरकारी नआउँदा र तराईमा बाढी पहिरोका कारण यो वर्ष तरकारीले राम्रो बजार पाएको किसान उज्जर सिहं पुनले बताए । 

कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित रहेको र यो वर्ष कोरोना भाइरसको त्रासका विक्री हुँदैन भनेर धेरै किसानले थोरै तरकारी उत्पादन गरेको उनको भनाई छ । उनले भने कोरोना भाइरसको डरले तरकारी विक्री गर्न पाइदैन भनेर थोरै थोरै लगाए । उत्पादन कम भएपनि बजार मुल्य भने यो वर्ष सन्तोषजनक नै छ । 
कपुरकोटबाट बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, दाङ तुलसीपुर लगायतका बजारमा जाने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top