होमपेज / समाज
इन्द्र बुढाथोकी सल्यान,
बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुलामा निर्माण सम्पन्न भएको नयाँ वडा कार्यालय भवनको नगर प्रमुख कर्णबहादुर बुढाथोकीले एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गर्नुभएको छ । आधुनिक सुविधासहित निर्माण गरिएको भवन सञ्चालनमा आएसँगै स्थानीय तहबाट प्रदान गरिने सेवाहरू अझ सहज, सुलभ र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
करिब १ करोड ४ लाख रुपैयाँ लागतमा कोशेढुगा कन्ट्रशन निर्माण टोपेन्द्र बुढा ६८ लाखमा सम्झौता गरि निर्माण कार्य वडा भवन सम्पन्न गरेको हो । ९ लाख जाली, ४ लाख सडक तथा फिल्ड निर्माण बनाएको छ । यससँगै बनगाड कुपिण्डे नगरपालिकाले वडा नं. २, ३, ७, ८, १०, ११ र १२ मा नयाँ वडा भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइ सकेको नगरपालिकाले जनाएको छ। बाँकी वडाहरूमा भवन निर्माण कार्य क्रमिक रूपमा अगाडि बढिरहेका छन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
यसैबीच चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न भएको छ। वनगाड कुपिण्डे नगरपालिकाको आयोजना तथा प्रकृतिमल्टी प्रपोज मिडिया प्रालि सल्यान अनलाईन डटकम को सहजीकरणमा भएको कार्यक्रममा स्थानीयवासीहरूले विद्यालय, संचार, सडक, खानेपानी, सामाजिक सुरक्षा, कार्यालय प्रक्रिया, दैनन्दिन सेवासम्बन्धी जिज्ञासा प्रस्तुत गरेका थिए। स्थानीयको प्रश्न र सुझावका आधारमा सम्बन्धित पदाधिकारीहरूले जवाफ तथा स्पष्टीकरण प्रदान गरेका थिए ।
नगर प्रमुख कर्णबहादुर बुढाथोकीले नगरका दुर्गम क्षेत्रहरूमा संचार, सडक, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा लगानी बढाइरहेको बताउनुभयो। उहाँले वडा नं. १२ मा विकासका लागि वर्षेनी पर्याप्त बजेट विनियोजन हुँदै आएको उल्लेख गर्दै संघ–प्रदेशबाट गर्नुपर्ने कार्य पूरा नहुँदा स्थानीय तहको सीमित स्रोतले ठूला काम प्रभावित हुने जानकारी दिनुभयो। “हामीले संचार, विद्युतिकरण, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय तहको सीमित स्रोतमै सकेको योगदान गरिरहेका छौँ,”—नगर प्रमुख बुढाथोकीले भन्नुभयो।
नगर उपप्रमुख पुरुषोत्तम आचार्यले नगरका सबै वडामा विकास योजना योजनाबद्ध रूपमा अघि बढाइएको बताउनुभयो। विद्यालय भवनदेखि अन्य भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका काम प्राथमिकताका साथ अघि बढाइरहेको उहाँको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले समुदायको सक्रिय सहभागिताले विकासलाई दिगो बनाउने उल्लेख गर्दै राम्रो कार्यको प्रसंशा तथा सुधारका सुझावका लागि स्थानीयप्रति धन्यवाद व्यक्त गर्नुभयो।
जनप्रतिनिधि र स्थानीयको उल्लेख्य उपस्थिति कार्यक्रममा वडा नं. ६ का अध्यक्ष गणेश बि.सी., इन्जिनियर महेश देवकोटा, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष लालबहादुर घर्ती मगरले गर्नुभएको थियो। उहाँले नयाँ भवनले नागरिकसँग प्रत्यक्ष सम्पर्क बढाउँदै सेवा प्रवाहमा पारदर्शिता, सहजता र उत्तरदायित्व बढाउने विश्वास व्यक्त गर्नुभयो। वडा सचिव अर्जुन पुनले चालु आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।
जग्गादातालाई सम्मान नयाँ भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता नोखराज वली र मायाँ खत्रीलाई विशेष सम्मान गरिएको थियो।
निगालचुलामा सम्पन्न कार्यक्रममा विकास, सेवा प्रवाह र स्थानीय सहभागिताको साझाप्रति प्रतिबद्धताको रूपमा दर्ज भएको छ।





.jpg)